जेन्जी आन्दोलनपछि नेपाली राजनीतिक परिदृश्य अझैं पनि धुमिल छ । कुहिरो हटिसकेको छैन । आकाशमा गड्याङगुडुङ कायमै छ । पश्चिमा तातो हावा छोइनसक्नुको छ । पूर्वीया चिसो हावा पनि चल्न छोडेको छैन । चौतारीमा मानिस रमाएर गफ गरिरहेका छैनन् । एकाध जम्मा भए पनि सङ्कोचको हावा सिर्रसिर्र चलिरहेको छ ।
यसले मानिसलाई झल्याँस्स पारिदिने र बेप्रसङ्गका कुरा र विवादमा अल्झाउने गरिरहेको छ । कुरा र तर्कको टुङ्गो छैन । वास्तविक नेपाली भएर कसैले तर्क र बहस गर्न सकिरहेका छैनन् । सबैका आआफ्ना स्वार्थ र अडान छन् । यसले कसैलाई पनि आफ्नो तर्क तार्किक निष्कर्षमा पुर्याउन दिएको छैन र दिँदैन पनि । किनकि सबैको आआफ्नो अडान छ । र, पूर्वाग्रह पनि छ ।
दोस्रो कुरा, जसका बारेमा जोजसले कुरा गरिरहेका छन्, ती सबै कुनै न कुनै शक्तिकेन्द्रको निर्देशनमा चलिरहेको भनिरहेका छन् । ‘नेपालका’ र ‘नेपाली’ भनेर कसैले पनि कसैलाई स्वीकार गरिरहेका छैनन् । मानौं, नेपालमा विदेशी शक्ति केन्द्रको दानापानी र अह्रोटपरोटबाट कोही पनि अछुतो छैन ।
त्यसैले अहिले नेपालको घुर्मैलो राजनीतिक क्षितिजभित्र शतरञ्जका रङ्गिन खेलहरू निकै चलिरहेका छन् । शतरञ्जको बोर्डमा संसदीय पार्टी नेपाली काङ्ग्रेस, एमाले र माओवादी आदिका कालाफौज र देशीय सन्दर्भमा उदीयमान देखिएका जेन्जी, स्वतन्त्र व्यक्ति र हुनेवाला शक्तिका सेता फौज विपरीत कित्तामा सजाउँदै लगिएका छन् ।
पुराना संसदीय पार्टी र तिनका नेताको दुर्बुद्धि र कुमतिका कारण हुँदाखाँदाको राजनीतिक रङ्गमञ्च गुमाउन पुगेका छन् । कुनै घटना विशेष वा परिस्थिति विशेष सिर्जना हुन जाने विशिष्ट अन्तरविरोध र आम वा प्रमुख अन्तरविरोधका बिचमा हुने भिन्नता थाहा पाउने तीक्ष्णता र प्रखरताको सर्वथा खडेरीका कारण नेपालले ऐतिहासिक भौतिक संरचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेज र साख तथा गरिमा गुमाउन पुगेको छ । अति निकृष्ट र पतितबाहेक सर्वसाधरणलाई पनि यी सबै गुमेको पीडा सर्वत्र बोध भइरहेको छ ।
देशका ८ दर्जन होनहार छोराछोरीको ज्यान गुमेको छ । सैयौं अङ्गभङ्ग भएका छन् । देशका युवा धेरैजसो विदेशमा छन् भने स्वदेशमा रहेकाले गोली खाएर मृत्युवरण गरिमाग्नु पर्ने र घाइते भएर अपाङ्गको जीवन जिउनु पर्ने दुर्दशा बेहोर्नु परिरहेको छ ।
द्वन्द्वको निकास खोज्दै गर्दा देशले अहिले निकै तरलताको अवस्था सिर्जना गरिरहेको छ । प्रश्न छोराछोरी र नातिनतिनाले के गरे भन्ने पनि होला । तर अभिभावकले निर्वाह गरेका दुष्कर्म वा कुकर्मले यस्तो वातावरण निर्माण गर्नमा के कति भूमिका निर्वाह गर्न पुग्यो, अति गम्भीर र निकै सोचनीय रहेको छ ।
पञ्चायत कालमा एउटा थेगो थियो, पञ्चहरूबाहेक सबै अराष्ट्रिय तत्व ! त्यतिबेला यी संसदीय दल र तिनका नेता सबै अराष्ट्रिय मानिन्थे, पञ्चहरूको आँखामा । हालको संसदीय व्यवस्थामा रहेका पुराना दलले पनि त्यही पञ्चायती थेगो सापटी लिएर हालका नयाँ पुस्ता र आन्दोलनमाथि आक्रमण थालेका छन् । त्यो भाष्यमा केही फरक रूप लिएर आएको छ ।
संसदीय दल र तिनका नेताभित्र जेन्जी आन्दोलन विभिन्न फाउण्डेशन र शक्तिहरूले उठाएको र आफूहरू राष्ट्रवादी भएकै कारण यसो गरिएको मृगतृष्णाले घर गरेको छ । यहीँनेर संसदीय विरासत बोकिरहेको पुरानो पुस्ताले जेन्जी हाम्रै नातिनतिना पुस्ता हुन् भनी धरातलीय यथार्थता स्वीकार गर्न हिच्किचाएको देखिन्छ ।
यो संसदीय पुस्ताको विनाश कालको सङ्केत पनि हो । यस अर्थमा संसदवादी दलहरू यथास्थितिवादी र परिवर्तन विरोधीको कित्तामा दर्ज भइसकेका छन् । उता जेन्जी पुस्ताले यी संसदीय दल र तिनका नेताहरूलाई कुनै विदेशी शक्तिको दलाल भने भनेका छैनन् । निवर्तमान सरकारलाई भ्रष्टहरूको अखडा भने भनेका छन् । ती भ्रष्ट नेताहरूमाथि छानबिन गर्न बारम्बार माग पनि गरिहेका छन् ।
देशमा अहिले अन्तरिम सरकार छ । फागुन २१ गतेभित्र संसदीय निर्वाचन गरिसक्ने कार्यतालिका अनुसार काम गरिरहेको छ । तर पनि राजनीतिक वातावरण अझैं धुमिल छ । यो धुमिल राजनीतिक वातावरणीय आवरणभित्र रङ्गिन शतरञ्जका खेल भइरहेका छन् ।
पुराना संसदीय पार्टी र तिनका नेताहरूले कुनै पनि पश्चातापको बोध गरिहेका छैनन् । बरू बदला लिने सुरमा कदम चालिरहेका छन् । यसले निकट भविष्यमै देशमा नराम्रो दुर्घटना निम्त्याउने सङ्केत देखाएको छ । अर्कोतिर ‘भनेको जस्तो’ परिवर्तन भएन भनेर जेन्जी पुस्तामा असन्तुष्टि व्यापक छ । पटक पटक पुनः आन्दोलनमा जाने धम्की पनि यो पुस्ताले दिइरहेको छ ।
‘धमिलो पानीमा माछा मार्न’ विदेशी शक्ति पनि कम्मर कसेर लागि परिरहेका छन् । नेपालको भूराजनीतिक अवस्थितिले विदेशी शक्तिको बर्कत र हर्कतलाई निकै लोभ्याउने गरिरहेको पनि छ । तर देशका नेताहरू यसको व्याख्या र समाधान खोज्ने दिशामा अघि बढिरहेका छैनन् ।
केही थोरै किनाराकृत नेताहरू देशीय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधको बारेमा लुकेर सानो स्वरमा व्याख्या गर्ने वा सुनाउने गरिरहेका छन् । तर उनीहरूलाई त्यस समस्याको समाधान कसरी गर्ने भन्ने छेउँटुप्पो पनि थाह छैन । पुराना दल र तिनका साना ठूला नेतामा देखिएको यो मन्दबुद्धि र बदलाभावले उनीहरूसहित कसैको पनि भलो गर्ने देखिदैन ।
यस्तो अवस्थामा विदेशी शक्तिको खेल निकै भारी हुन जाने देखिन्छ । आफ्ना नातिनतिना (जेन्जी) पुस्तासँग सामुन्ने उभिएर ‘के गर्नुपर्छ’ भनी सल्लाहसुझाव समेत लिन नसक्नेहरूका विरूद्ध विदेशी शक्तिले यिनै नातिनतिना उठाएर फेरि पनि तिनकै आडमा अर्को भयङ्कर हमला गर्न सक्ने संभावना उत्तिकै छ । आउँदा बखत निकै सङ्गिन छन्, खेल निकै रङ्गिन छन् ।