• फाल्गुन २५ २०८२, सोमबार

उच्चस्तरीय आयोग बनाएर श्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : घनश्याम भुसाल

आश्विन १३ २०८२, सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन तत्कालै ठोस कदम चाल्नुपर्ने बताएका छन् । उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सोमबार उनले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनमा युवाहरूले उठाएको मुद्दा सान्दर्भिक रहेको उल्लेख गर्दै उनले तत्कालै वर्तमान मुख्य नेताहरूलाई बिदा दिनुपर्ने धारणा राखेका छन् । उनका अनुसार, त्यस्तो कदमले दलभित्र र समाजमा नयाँ आशा र विश्वास जगाउँदै पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नेछ ।

भुसालले भने, ‘संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ । सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेर श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्ने संकल्प गर्नुपर्छ ।’

उनले २०७२ को संविधानलाई दलहरू र नागरिकबिच भएको सम्झौता बताउँदै पनि त्यसलाई राजनीतिक दलका नेताहरूले उल्लङ्घन गरेको आरोप लगाए । भ्रष्टाचार र कुशासनलाई संरक्षण गर्ने प्रवृत्तिले आम नागरिकमा निराशा र आक्रोश बढाएको उनले बताए । भदौ २३ गते भएको प्रदर्शनमा भएको नरसंहार र त्यसपछिको अराजक गतिविधिले मुलुकलाई राजनीतिक शून्यतामा धकेलेको उनको भनाइ छ ।