काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई जिम्मेवारी दिइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो । डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेतृत्व गरेका केसीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।
शरणार्थी प्रकरणपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीबाट हटाइएको थियो । तत्कालीन सत्ता गठबन्धनको चेपुवामा परेर केसीले चुनौतीपूर्ण पोष्टिङ पाएका थिएनन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख चन्द्रकुवेर खापुङ आईजीपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।