बुटवल । एक वर्ष अघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भाँजो नहाल्न उद्योग ब्यापार संघ बुटवलले रुपन्देही उद्योग संघलाई आग्रह गरेको छ ।
उद्योग व्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो ।
संघले पुस २२ गते वृहत पत्रकार सम्मेलन गरी ब्यापार मेलाबारे जानकारी गराएको थियो ।
यस्तै शहरी विकास मन्त्रालय विशिष्ट संचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थियो ।
यी प्रक्रिया पूरा गरेर प्रदेश र संघीय मन्त्रालयहरुमा प्रस्तावना पत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग संघले मुलुकमा उत्पन्न विषम परिस्थितिमा एक्कासी सोही ठाउँमा पुस ३ देखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै बोर्ड गाडेपछि उद्योग व्यापार संघले आपत्ति जनाएको छ ।
उद्योग संघले भन्दा १५ दिन अगाडि उद्योग व्यापार संघले मेलाको जानकारी दिने ब्यानर प्रदर्शनीस्थलको गेटको पर्खालमा राखिसकेको थियो ।