काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरूका लागि परिचयपत्र नवीकरण गर्ने समयसीमा दुई महिना थप गरेको छ। अब लाभार्थीहरूले असोज मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सक्ने छन्।
गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ संशोधन गर्दै, यसअघि तोकिएको समयसीमा साउन मसान्तबाट असोज मसान्तमा सारिएको हो। नियमावलीको नियम ९ को उपनियम १ अनुसार, पहिले लाभार्थीहरूले हरेक आर्थिक वर्षको साउन मसान्तभित्र आफू उपस्थित भई सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था थियो।
तर अब, संशोधित नियमअनुसार ‘साउन मसान्तभित्र’ भन्ने शब्दलाई ‘असोज मसान्तभित्र’ मा परिवर्तन गरिएको छ। यो परिवर्तनसँगै देशभरका लाखौँ सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूलाई सहज हुने विश्वास गरिएको छ।
यो व्यवस्था जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित बालबालिका, विधवा र अति गरिब वर्ग जस्ता सामाजिक सुरक्षा भत्ता पाउने सबै श्रेणीका लाभार्थीहरूका लागि लागू हुनेछ। नयाँ समयसीमा थपिए पनि लाभार्थीले स्वयं उपस्थित भई वडा कार्यालयमा निवेदन दिनुपर्ने प्रक्रिया यथावत रहनेछ। अन्यथा, भत्ता रोकिने सम्भावना रहन्छ।