• फाल्गुन २३ २०८२, शनिबार

अग्रगामी निकास देऊ

भाद्र २८ २०८२, शनिबार

देशमा अहिले असहज तर अग्रगामी दिशामा अघि बढ्न ढोका खुला भएको छ । जेन्जी आन्दोलन अब पूर्ण रूपमा शान्ति वार्तामा आइसकेको छ । वार्ताको प्रक्रिया अघि बढिसकेको छ । नागरिक सरकार निर्माणका लागि छलफल बहस र वाार्ता चलिरहेको छ ।

शान्ति र अग्रगामी निकास चाहने सबैले वार्ता गर्न गराउन सहजीकरणका प्रयास जारी राखेका छन् । निजामति निकायसहित राज्यका अङ्गहरू नागरिक सरकारसँग काम गर्न तयार रहेको बताइरहेका छन् । अवस्था अन्तरिम नागरिक सरकार निर्माणका लागि उपयुक्त छ । तर वर्तमान काम चलाऊ सरकार, पुराना दल र केही स्वार्थी तत्वहरूले प्रतिवाद, प्रतिगमन र प्रतिकारका सङ्केत पनि देखाइरहेका छन् ।

देश थप द्वन्द्वको भूमरीमा नजाओस् भनेर सबैले सतर्कता अपनाउनु अति आवश्यक छ । देश गम्भीर अवस्थामा छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्यालय रहेका भवनहरू काम लाग्ने अवस्थामा छैनन् । सरकारका साथै यी मुख्यालयका कार्यकक्ष नयाँ निर्माण गरेर मात्र तत्काल काम अघि बढाउन सकिने अवस्थामा छन् ।

पुराना अवशेष र संसद अब कसैका लागि पनि पाच्य र अग्रगामी निकासका साधन बन्न सक्ने देखिएका छैनन् । देश पूरै ‘डिफङ्क्ट’ अवस्थामा छ । यस्तो बेलामा देशलाई सरकारविहीन अवस्थामा राखिरहनु सर्वथा उचित हुँदैन ।

यति बेला आग्रह र पूर्वाग्रहले काम गर्न दिनु हुँदैन । यही आग्रह र पूर्वाग्रहका कारण देश आजको यो भयाबह अवस्थामा फस्न पुगेको हो । काम चलाउ सरकारले जनादेशको धरातल गुमाइसकेको कुरा साँचो हो । यसको थप क्रियाशीलता थप अशुभको सङ्केत मात्र हो ।

देश थप भिडन्त र रक्तपातको अवस्थातिर नधकेलियोस् । वार्ता लम्ब्याउने र षडयन्त्रका तानाबाना बुन्ने काम पनि नगरियोस् । प्रतिकार र प्रतिवादका कार्य जहाँको त्यहीँ रोकियोस् ।

देशको स्थिति सबैपक्षबाट बोध गरियोस् । आआफ्ना स्वार्थ र निकम्मापनको समीक्षा गरियोस् । आत्मसंयमताको खाँचो छ अहिले । जोकसैको पनि फूर्तिफार्ति र चुरीफूरी धेरै आवश्यक छैन । समय आउँछ, पर्खदैन । सबैले परिपक्वता देखाउनु जरूरी छ । देश र भविष्यलाई कसैले कैद गर्न सक्दैन पनि । यस कुरामा सबै गम्भीर हुनै पर्छ ।

देशलाई गृहयुद्धतिर धकेल्ने प्रयासहरूका बाबजुद नागरिक सरकार गठन गरी देशलाई यथाशिघ्र अग्रगामी निकास दिइयोस् ।