• फाल्गुन २३ २०८२, शनिबार

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर मात्र अनिवार्य गर्ने निर्णयप्रति ५३ संस्थाकाे आपत्ति

भाद्र १२ २०८२, बिहीबार

काठमाडौँ । ५३ वटा विभिन्न साहित्यिक तथा सांस्कृतिक सङ्घ–संस्थाले नेपाल सरकारले एकतर्फी रूपमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर मात्र अनिवार्य गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवालाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कुनै छलफल, परामर्श वा सरसल्लाह नगरी जबरजस्ती यो निर्णय लादिएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ ।

बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ’नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले राजपत्रमा प्रकाशित गरेको सूचना र आम नेपाली जनताको भावना विपरीत भएको छ ।’

सङ्गठनहरूले सरकारले तुरुन्तै निर्णय सच्याई नम्बर प्लेटमा नेपाली अक्षरलाई ससम्मान प्रयोग गर्न आग्रह गरेका छन्। साथै, उक्त माग पूरा नगरे यसको परिणामप्रति सरकार नै जिम्मेवार हुने चेतावनी समेत दिएका छन् ।

त्रिपन्न संस्थाबाट जारी संयुक्त प्रेस विज्ञप्ति यस्तो छ :
नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबरजस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ । यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत अवगत गराउँदछौँ ।