• फाल्गुन २४ २०८२, आईतवार

उमागौरी सहकारीको रकम अपचलनमा चार जनासँग एक–एक करोड रूपैयाँ धरौटी माग

भाद्र ५ २०८२, बिहीबार

विराटनगर । मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन मुद्दामा उच्च अदालत विराटनगरले चार जनासँग जनही एक–एक करोड रूपैयाँ धरौटी माग गर्ने फैसला गरेको छ ।

धनपालथान गाउँपालिकामा रहेको सो सहकारीको रकम अपचलन प्रकरणमा अदालतमा मुद्दा खेपिरहेकी अन्जला कोइरालासहित चार जनासँग उच्च अदालत विराटनगरले एक–एक करोड रूपैयाँ धरौटी माग गरेको हो । अन्जला प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् ।

यसअघि जिल्ला अदालतले अन्जलासँग दस लाख रूपैयाँ धरौटी लिएर छोडेको थियो । जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्लाको आदेशविरूद्ध उच्चमा पुनरावेदन गरेको थियो । अरू प्रतिवादीहरूले पनि उच्चमा पुनरावेदन गरेका थिए ।

सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेपछि अदालतले वैशाख ११ मा यसबारे सुनुवाइ गरेको थियो ।

त्यस बेला उच्च अदालत विराटनगरका दुई जना न्यायाधीशको राय आपसमा बाझिएपछि जिल्ला अदालत मोरङको आदेशबारे निवेदन तेस्रो न्यायाधीशको इजलासमा पेस भएको थियो । १३ पटक पेसी स्थगित भएपछि बिहीबार यो मुद्दाको सुनुवाइ उच्चका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा भएको थियो ।

उच्च अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार अन्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटाका हकमा न्यायाधीश केशवप्रसाद बास्तोलाको राय सदर भएको छ । यीमध्ये रोशन राजवंशी अहिले थुनामा छन् । फैसला अनुसार अब उनले एक करोड रूपैयाँ धरौटी बुझाए बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

दस लाख रूपैयाँ धरौटीमा छुटेकी अन्जलाले अब थप ९० लाख रूपैयाँ धरौटी थप गर्नुपर्ने भएको छ। ज्योति बाँस्कोटाले यसअघि ५ लाख धरौटी बुझाएकी थिइन्। अब उनले ९५ लाख रूपैयाँ थप गर्नुपर्नेछ ।