• फाल्गुन २३ २०८२, शनिबार

बहुध्रुवीय विश्वका कारण नेपालमा आइपर्ने खतरा

श्रावण २८ २०८२, बुधबार

राजनीतिक आँखाबाट हेर्दा नेपाल अहिले आन्दोलन नभएको सापेक्ष शान्त तर अन्तर्यमा अनौठो गडबडीबाट गुज्रिइरहेको छ । काङ्ग्रेस, एमाले, माओवादी सहितका ठूला र पुराना पार्टीहरू विश्व महाशक्तिको राजनीतिक तथा कुटनीतिक दबाबका कारण अनिच्छित आन्तरिक झगडामा निस्कनै नसक्ने गरी फसिरहेका छन् । सापेक्ष नयाँ पार्टी भनिएको रास्वपालाई २०८४ को चुनावसम्म नेतृत्व विहीन बनाएर विजयको शिखरबाट ओह्राल्ने दाउमा यी सबै लागिपरिरहेका छन् ।

जनतामा यी ठूला तथा पुराना पार्टीबाट कुनै आशा र भरोसा रहेको देखिंदैन । तर जनताको यो मनोभावनालाई सम्बोधन गरेर अघि बढ्न सक्ने राजनीतिक शक्ति पनि सतहमा उदाइसकेको छैन । बरू बेला बेलामा राप्रपा सहितका पश्चगमनकारी शक्ति जुर्मुराउँदै र सडकमा निस्कँदै गरेको परिदृश्य देखा परिरहेको छ ।

शासक र जनताका बिचमा बढ्दै गएको अविश्वासका कारण नेपालको आन्तरिक एकता र शक्ति कमजोर भइरहेको छ । यति बेला स्वाभाविक रूपमा बाह्य शक्तिको प्रवलता र प्रभाव बढ्दै गइरहेको छ ।

बाह्य शक्तिको तानातानका कारण नेपाली काँग्रेस इन्तु न चिन्तुको अवस्थामा छ । नेपालमा सिर्जित वर्तमान समस्या समाधानका लागि नेपाली काँग्रेस सही विचार, नीति तथा योजना र कार्यक्रम तय गर्न असफल हुँदै गएको छ । संसदमा सबैभन्दा ठूलो पार्टी भए पनि यसले देशमा सिर्जित समस्या समाधानका लागि कहिल्यै पनि ठोस पहल लिन सकिरहेको छैन ।

एमालेभित्र अन्तरविरोध भुसको आगो झैं सल्कँदै गएको छ । गति, मति र विचार विहीनताका कारण अकर्मण्यताको सिकार हुँदै गइरहेको छ । विचार विहीनताको उस्तै रोगका कारण माओवादी भित्रको अन्तरविरोध वैयक्तिक टकराव र ‘इगो’मा अभिव्यक्त हुन थालिसकेको छ ।

बाह्य रूपमा महाशक्ति राष्ट्रकाे तानतान र हानाहानका कारण भूराजनीतिक अवस्थितिको चपेटामा परेको नेपाल र नेपाली राजनीति वैश्विक प्रभाव र ध्रुवीकरणको माखेसाङ्लोमा फस्दै र जकडिंदै गइरहेको छ ।

विश्व राजनीतिको नवीन परिदृश्यमा चीन, रसिया, ब्राजिल र भारतको एक ध्रुव (ब्रिक्स) र अमेरिका तथा युरोपको अर्को ध्रुव (नेटो) सहितको बहुध्रुव सतहमा देखिन थाल्दा नेपाल अब वास्तविक चपेटामा परिसकेको छ ।

हाल अन्तर्राष्ट्रिय राजनीतिक प्रभाव सबैभन्दा बढी देखिने गरी परिरहेको छ । नेपाली शासकहरू शक्ति राष्ट्रहरूसँग सन्तुलित विदेश नीति अपनाउन असफल हुँदा देशको मोहरा ‘पिँध नभएको लोटा’ झैं कहिले यता त कहिले उता गरी ढल्कदै र घुम्दै गरिरहेको छ । यसले देशमा स्थिरता र शान्ति र विकासको बाटो अबरूद्ध गरिरहेको छ । विश्वमा विद्यमा वा उदीयमान ध्रुवहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न नसक्दा नेपाली शासकको असक्षमता सतमा देखा परिसकेको छ ।

नेपाल अहिले आफ्ना छिमेकी देश चीन र भारतको प्रभाव बढ्दा पनि ‘नयाँ सामरिक साझेदारी’ अपनाउनु पर्ने अवस्थामा आइपुगेको छ । यसमाथि अमेरिकासहित नेटोको उपस्थिति र रसियाको रणनीतिक दाउपेचका कारण नेपालमा हालसम्म अपनाइँदै आएको राजनीतिक सम्बन्ध र पहलकदमीले काम गर्न सक्ने देखिंदैन ।

नेपालले असंलग्न परराष्ट्र नीति अघोषित रूपमा परित्याग गरेसँगै गुटनिरपेक्षताको नीति कायम राख्न गाह्रो हुँदै गएको छ । किनकि, प्रत्येक विश्वमा चलायमान हरेक ध्रुवले सामरिक उपस्थितिका कारण नेपालमा आआफ्ना प्रभाव बढाउँदै लैजान जोड गरिरहेका छन् ।

विकास सहयोग मार्फत् आआफ्ना प्रभाव र पकड विस्तार गर्न लागेका चीन र अमेरिकाको प्रतिस्पर्धा नेपालका लागि भारी परिरहेको छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम्‌सिसी) जस्ता आर्थिक सहयोग दुबै काँधमा निकै गह्रुङ्गा साबित भइरहेका छन् ।

बढ्दो भू–राजनीतिक दबाबका कारण सुरक्षा मामला पनि कम खतरामा छैन । नेपाल स्वयम् चीन, भारत वा अमेरिकासँग पौंठेजोरी खेल्ला र लड्न तयार होला भनेर होइन । चीन र अमेरिकाबीच तनाव बढ्दाका बखत मात्र पनि नेपालले दुबैतर्फबाट सैन्य तथा राजनीतिक दबाब झेल्नु पर्ने अवस्था स्वतः सिर्जना हुन जान्छ । उता सीमा विवादका समस्या पनि निकै पेचिला छन् । भारत–चीन तनाव वा सम्झौता दुवैले कालापानीसहितका नेपालको सीमाका समस्या अझ गम्भीर बन्दै जानेछन् ।

यति नै बेला अमेरिका र उसको ध्रुवले नेपालमा सफ्ट पावर पोलिसीलाई हतियारका रूपमा प्रयोग गर्ने देखिन्छ । यो अवस्थामा अमेरिका र युरोपले ‘प्रजातन्त्र’ र ‘मानवअधिकार’का कुरा निकै पेचिलो हुने गरी उठाउँदै लैजाने देखिन्छ ।

चीनले आर्थिक विकासको मोडेलमार्फत् सहकार्य अघि बढाउँदा मात्र पनि यसले बहसको रूप लिई नेपाली समाजमा विचारधारात्मक विभाजन ल्याउन बल पुर्‍याउने देखिन्छ । उता भारतले नेपालमाथि रहेको उसको ‘इन्टेरेष्ट’ मा कनै पनि कमी आउन नदिन नेपालमाथि हर प्रकारका तिकडमको सहारा लिने कुरामा शङ्का छैन ।

निष्कर्षमा बहुध्रुवीय विश्वले नेपाललाई तात्कालिक र रणनीतिक असर र अवसर दुवै दिन सक्छ । यसको सङ्ंकेत अहिलेदेखि देखिंदै गएको छ । यी समस्या समाधानका लागि नेपालले सावधानीपूर्वक सोच्नु जरूरी छ । किनकि, यसले सन्तुलित र दीर्घकालीन रणनीति निर्माण र कार्यान्वयनको अपेक्षा गर्दछ । आउँदा यी पेचिला दिनमा नेपालले आफ्नो स्वतन्त्रताको रक्षा गर्दै विभिन्न शक्तिहरूसँग समानताका आधारमा सन्तुलित सम्बन्ध कायम गर्न सक्नुपर्छ ।