ट्रम्प अहिले विश्वमा जहाँकहिँ विवाद निम्त्याउने र मध्यस्थता गरेको नाटक गर्ने गरिरहेका छन् । भारत–पाक द्वन्द्व र ‘सर्जिकल आक्रमण’पछि उनले क्षणभरमा युद्धविराम गराए । इजरायल–इरान युद्ध केही दिन लम्ब्याएर आफैले व्यक्तिगत रूपमा ती दुबै युद्धरत देशको तत्कालीन हुनेवाला युद्ध विरामको लामो–सेड्युल युद्धविराम पूर्व नै आफ्नै स्टाटसमा राखेर सार्वजनिक गरी सबैलाई आश्चर्यजनक रूपमा हँसाए पनि । मानौ इजरायल–इरान युद्ध र युद्धविराम ट्रम्पको वैयक्तिक करामत थियो ।
त्यसपछि उनी थाइल्याण्ड–कम्बोडिया द्वन्द्वभित्र पसे । उनले त्यहाँ पनि आफ्नै पहलमा युद्ध विराम गराए पनि । हेर्दा निकै दर्दनाक, दुःखान्त र यथार्थपरक जस्ता देखिने यी युद्ध नाटकीय रूपमा देखा पर्ने र अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा नाटकीय रूपमै युद्धविरामको अवस्था पुग्ने गर्नुपछिका कारण के हुन सक्लान् ?
अथवा, यी युद्ध यथार्थ हुन् कि प्रायोजत ! यस्ता युद्धलाई अङ्ग्रेजीमा ‘प्रोक्सी वार’ भनिन्छ । यस्ता युद्धको सञ्चालन र नियन्त्रणको साँचो कुनै व्यक्ति वा शक्तिको हातमा हुन्छ । यस्ता युद्धमा तेस्रो पक्षको स्वार्थ गहिरो रूपमा निहित हुन्छ । यसैले युद्धरत दुवै पक्षका बीचमा आफ्नो स्वार्थ अनुरूप तेस्रो पक्षले मध्यस्थता गरी नाजायज फाइदा लिने गर्दछ ।
हाल अमेरिकी मध्यस्थता यही कोटीको मध्यस्थताभित्र पर्छ । बाहिरी आँखाले हेर्दा यो निकै मानवीय, भद्र तथा सौम्य पनि देखा पर्दछ । तर यसको भित्री मनशाय भने कुटिल र रौद्र हुन्छ । बाहिर हल्ला पनि छ, ट्रम्प विश्व शान्तिको सबैभन्दा ठूलो नोवेल पुरस्कार प्राप्त गर्न चाहन्छन् । त्यसैले पनि उनी प्रोक्सी वार खडा गरेर मध्यस्थता गर्दै विश्व शान्तिका हिमायती बनेको देखाउन चाहन्छन् ।
यस्तो बाह्य कुरा वा कारण जे पनि हुन सक्लान्, तर ‘एउटा ढुङ्गाले दुईवटा चरा मार्ने’रणनीति अमेरिकाले जहिले पनि गर्दै आएको छ । अमेरिका हालको अवस्थामा विश्व अतिमहाशक्ति राष्ट्र हो । यसका विश्व व्यवस्था कायम राखिराख्ने र विश्व प्रभुत्वमा कमी आउन नदिने रणनीतिक चाल पनि उत्तिकै चाखलाग्दा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा अख्तियार गरिरहेका नीति अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय विवादहरूमा मध्यस्थता गर्ने र युद्धविराम लागू गराउने प्रयासहरूका पछाडि निम्न उद्देश्यहरूले काम गरिरहेका देखिन्छन् ।
अमेरिकी भू–राजनीतिक प्रभुत्व कायम राख्ने प्रयास पहिलो प्राथमिकतामा पर्न सक्छ । अमेरिका स्वयम्ले आफू पछाडि परिरहेको र अमेरिकालाई फेरि पनि एक महान् राष्ट्रका रूपमा अघि बढाउनु पर्ने दायित्व अमेरिकी नेतृत्वमा आइपरेको कुरा राष्ट्रको मुख्य नारा बनाएर अघि बढिरहेको छ ।
यसका लागि विश्वमा अमेरिकी भूराजनीतिक प्रभुत्व कायम राखिरहनु जरूरी छ । हालका क्षेत्रीय युद्ध र ती युद्धमा युद्ध विरामका लागि अमेरिका आफैले पहल लिएको देखाएर राष्ट्रपति ट्रम्पले अमेरिकाको विश्वव्यापी नेतृत्व अद्यावधि रहेको देखाउन खोजिरहेका छन् ।
विशेष गरी क्षेत्रीय युद्ध र सङ्घर्षहरूमा हस्तक्षेप गरेर अमेरिका आफ्नो भूराजनीतिक महत्व भान आमवृत्तमा पार्न खोजिरहेको छ । यसले अमेरिकालाई रूस र चीनजस्ता महाशक्ति राष्ट्रलाई पछि पारिरहेको आभाष दिलाउन सकिरहेको छ भन्ने ट्रम्प प्रशासनलाई परिरहेको छ ।
यस्ता युद्ध र ती युद्धको युद्धविराममा लिइएको पहलकदमीले अमेरिकालाई आर्थिक तथा सामरिक फाइदा पनि निकै पुग्ने गरिरहेको छ । युद्धमा प्रयोग गरिएका युद्धरत देशका हतियार कुन स्तरका छन् ? ती हतियार भन्दा विकसित र आधुनिक हतियार अबका दिनमा कुन हतियार हुन सक्छ ? र, ती हतियार कहाँबाट खरिद गरेर ल्याउनुपर्छ भनेर युद्धरत देशलाई एकखाले बाध्यात्मक अवस्थामा धकेलिदिएपछि तिनले अमेरिकी हतियार नै विकल्प रहेको देख्नपुग्छन् । किनकि, युद्धरत देशसँग युद्धविराम र शान्तिका लागि वार्ता गर्दाका बखत नै अमेरिकाले तीसँग हतियार खरिद बिक्रिका लागि सम्झौता गर्ने गरिरहेको छ । यो अवसर अमेरिकाले ‘प्रोक्सी वार’ मार्फत् आफै सिर्जना गर्ने गरिरहेको देखिन्छ ।
यति मात्र होइन, युद्ध विराम र शान्ति वार्ताका लागि मध्यस्थता गर्दै पहलकदमी लिने बेलामा अमेरिकाले सम्बन्धित देशहरूसँग गम्भीर सैन्य, आर्थिक तथा रणनीतिक महत्वका सम्झौता गर्ने गरिरहेको छ । अहिलेका क्षेत्रीय युद्ध र ती युद्धमा अमेरिकाले लिएको अग्रसरताले यी कुरालाई सतहमा ल्याइदिएको छ ।
तेस्रो कुरा, अमेरिकाका प्रमुख प्रतिद्वन्द्वी चीन र रूस केही कमजोर अवस्थामा नधकेलिँदासम्म तेस्रो विश्वयुद्ध वा निर्णायक युद्धमा अमेरिका जान हिचकिचाइरहेको देखिन्छ । यो उसको समग्र रणनीति पनि हो । यति बेला ट्रम्प आफ्नो र अमेरिकाको राजनीतिक छवि उजिल्याउन चाहन्छन् । त्यसैले उनी संहारकर्ताका रूपमा भन्दा पनि तपस्वी वा समाधानकर्ताका रूपमा विश्वमा छवि बनाउन चाहन्छन् । अर्कोतिर अमेरिकी घरेलु सङ्कट र निर्धनताको खाँचो पनि टार्नुछ उनलाई ! यसलाई अवसरका रूपमा अघि बढाएर जुनियर ट्रम्प (छोरा) को राजनीतिक भविष्य निर्माण गरिदिन पनि इच्छुक देखिदै आएका छन् उनी !
त्यसैले उनी सापेक्ष स्थायी बाटो अङ्गीकार गर्न उद्दत छन् । उनी अहिले रूसले युक्रेनसँगको युद्ध अन्त्य गरिदिए हुने थियो भन्ने मनशाय पालेर बसेका छन् । धम्की त दिएका छन् रूसलाई ! तर अन्तर्यमा ट्रम्प केही समय स्थायित्व र व्यापारिक हितमा नै केन्द्रित हुन चाहिरहेका छन् ।
रूसलाई युद्धविरामको १० दिने अल्टिमेटम दिँदा ‘अब अमेरिकाले नै रूसमाथि प्रहार गर्छ’ भन्ने विश्वलाई विभ्रम पैदा हुँदा उनले १० दिनपछि पनि रूसले युद्ध विराम गरेन भने रूससँग व्यापार गर्ने देशमाथि उल्टै चर्को व्यापारिक कर लगाउने उद्घोष गरिरहेका छन् । जहाँसम्म अमेरिकाले आफ्ना आणविक पनडुब्बी तम्तयार हालतमा राखेको भन्ने भनाइ ट्रम्पको छ, त्यो त अमेरिकाले सधैं नै तयारी हालतमा राखि नै रहेको हुन्छ । हाल कमजोर आर्थिक अवस्थामा रहेको अमेरिका तेस्रो विश्व युद्धमा जाने तयारीमा छैन । त्यसैले अहिलेको अमेरिकी हाउँ भनेको ‘ढुङ गर ढाङ गर, खान्या काम गर’ भन्ने नै हो ।
‘प्रोक्सी वार’ अन्तर्गत क्षेत्रीय युद्ध चलाएमा रूस र चीनको प्रभाव क्षेत्र बिस्तारमा कमी आउने छ भन्ने अनुमान अमेरिकीहरूको रहेको छ । अमेरिका हाल मध्य पूर्व र दक्षिण एसियामा चीन र रूसको बढ्दो प्रभावलाई सीमित गर्न चाहन्छ ।
एउटा मात्र उदाहरण लियौं भने पनि नेपालकै छिमेकी देशहरू भारत–पाक युद्धपछिको युद्धविराममा भारतमा आफ्नो प्रभाव बिस्तार र पाकिस्तानमा चीनको प्रभाव कम गर्ने उद्देश्यका साथ अमेरिकी पहल अघि बढेको स्पष्ट देखिन्छ । अमेरिकाले उसका प्रतिद्वन्द्वी चीन र रूसले कुन देशमा कस्ता हतियार दिएका छन् भन्ने पत्ता लगाउने तरिका पनि हो प्रोक्सी वार । प्रतिद्वन्द्वीले दिएका यस्ता हातहतियार निस्क्रिय पार्न सापेक्ष महङ्गा र आधुनिक अमेरिकी हतियार भारतलाई किन्न लगाउने उपाय पनि हो यो ।
त्यसैले अमेरिकाले प्रोक्सी वारका यस्ता मोडल विश्वमा निकै गराउने देखिन्छ । र, आफूले निमिट्यान्न पार्नु पर्ने देश वा दुश्मनलाई चाहिँ यस्तै हुलमुल खडा गरिदिएर उदाउँदै गरेका साना शक्तिलाई सिध्याउने आन्तरिक रणनीतिक ध्याउन्नमा रहेको पनि देखिन्छ ।
शायद यसपछि अमेरिका अफ्रिका महादेशतिर यस्ता नाटकीय युद्धको अभ्यास गर्न अग्रसर नहोला भन्न सकिन्न । किनकि अफ्रिका महादेशका अधिकांश राष्ट्र रूस र चीनको प्रभावमा गइरहेका छन् । एउटा मात्र उदाहरण लिँदा पनि भखैरै फ्रान्सेली नवउपनिवेशबाट मुक्ति पाएको अफ्रिकी देश बुर्किना फासोका राष्ट्रपति त्राउरे पनि पश्चिमा शक्तिहरूको आँखाको कसिङ्गर बनिरहेका छन् ।
तसर्थ, अमेरिका र अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति वार्ता र युद्ध विरामका पहलहरू विशुद्ध मानवतावादी मात्र छैनन् र होइनन् । यसको अर्थ विश्वमा युद्ध र अशान्ति भइरहनु ठीक हो भन्ने पनि होइन । शान्ति वार्ताका लागि अमेरिका अग्रसर हुनु हुँदैन भन्ने पनि होइन । तर विश्व शान्ति असल मनशायका साथ हुनु पर्छ भन्ने भने पक्का हो । यस विश्व शान्तिका लागि कुनै पनि महाशक्ति वा क्षेत्रीय शक्तिका रणनीतिक, सामरिक, आर्थिक र राजनीतिक स्वार्थ निहित हुनु हुँदैन ।