द्वितीय विश्वयुद्ध अन्त्यसँगै एक नयाँ आयाम लिएर आएको परमाणु बमको युग अब सकिने भएको छ । विश्वमा उदीयममान अतिमहाशक्ति चीनले नवप्रवर्तन गैरपरमाणु अस्त्रका रूपमा हाइड्रोजनको सफलतम् प्रयोग गरिकेको छ । यसले आणविक अस्त्रसम्पन्न देश अबका दिनमा पछि पर्दै जाने देखिएको छ । त्यसो त विश्वमा परमाणु ऊर्जा र परमाणु बमको युग अन्तिम र अजेय हुनेछ भनेर वैज्ञानिकले ठोकुवा पनि गरेका थिएनन् ।
समय अनुसार विज्ञानले गति लिँदै र प्रगति अघि बढ्दै गर्दा भयो पनि यस्तै । अहिले प्रविधिको प्रतिस्पर्धाले संसारमा नयाँ नयाँ गति दिँदै गएको छ । केही महिना अघिमात्र चीनले हालसम्मका सबै अत्याधुनिक परमाणु बमलाई पछि पार्दै ‘अति विष्फोटक’ ऊर्जाको रूपमा हाइड्रोजनको प्रयोग गरिसकेको छ । यो चीनका लागि नवप्रवर्तित उर्जा मात्र बनिरहेको छैन । यस ऊर्जाले विश्वमा नयाँ युग आगमनको सङ्केत पनि सुरू गराइसकेको छ ।
चीनको ‘स्टेट शिपबिल्डिङ कर्पोरेशन’ले हालै मात्र हाइड्रोजनलाई अति ज्वलनशील विष्फोटक रूपमा अघि बढाइसकेको छ । चीनको ‘स्टेट शिपबिल्डिङ कर्पोरेशन’ पानीमुनि प्रयोग गरिने विविध थरीका हतियार निर्माण गर्ने महत्वपूर्ण संस्था हो । यसले हाइड्रोजन ऊर्जालाई सैन्य प्रयोजनका लागि प्रयोगमा ल्याएर चकित पारिरहेको छ । हालै मात्र चीनले ‘गैरपरमाणु हाइड्रोजन–आधारित विस्फोटक’को सफलतापूर्वक परीक्षण गरिसकेको छ ।
‘अन्डर वाटर इनर्जी’ को खोजीका क्रममा चिनियाँ अनुसन्धानकर्ता हाइड्रोजनलाई प्रयोगमा ल्याउन सफल भइसकेका छन् । यसको असर तथा परिणामको अध्ययन तथा विश्लेषण पनि गरिसकिएको छ । परिणाम विश्लेषण हेर्दा यो विष्फोटकले हालसम्म विश्वमा एकलौटी राज गर्दै आएका परमाणु बमजस्तो प्रलयकारी अस्त्रलाई चर्चाको एक कुनामा धकेलिदिएको छ । किनकि, गैरआणविक हाइड्रोजन बम अब चर्चाको केन्द्रमा आइपुगेको छ ।
हाइड्रोजन बमको विष्फोटन प्रभावकारिता हालसम्म अतिविष्फोटकका रूपमा रहेको ट्राइनाइट्रोटोलिन ‘टीएनटी’ भन्दा धेरै गुणा बढी छ । यसले उत्पादन गर्ने ताप र विष्फोटन क्षमता अद्वितीय छ । प्रयोगमा ल्याइएको हाइड्रोजन विष्फोटकले आगोको ज्वाला र त्यसको गोला निर्माण गर्दै परमाणु बमभन्दा बढी असर देखाउने गरेको छ ।
मात्र दुई किलोग्रामको हाइड्रोजन प्रविधि विष्फोट गरिँदा यसले १,००० डिग्री सेल्सियसभन्दा बढी तापक्रम दुई सेकेण्डसम्म निरन्तर दिइराखेको छ । साथै, परमाणु विष्फोटनभन्दा १५ गुणा बढी विष्फोटक शक्ति यसले देखाएको छ । यस कुराको पुष्टि आधिकारिक चिनियाँ सञ्चामाध्यमले पनि गरिसकेका छन् ।
विष्फोटकका रूपमा हाइड्रोजनको नवीन प्रयोगले विश्वमा हुने अबका युद्धका स्वरूप र प्रकृतिमा नाटकीय परिवर्तनका परिदृश्य देखाइसकेको छ । परमाणु विष्फोटलगत्तै देखा पर्ने दीर्घकालीन असर हाइड्रोजन विष्फोटनपछि नदेखिएको कुरा पनि प्रयोगपछि सार्वजनिक गरिएको छ । यसले आणविक बमजस्तो विकिरण उत्पन्न नगरेको दाबी गरिएको छ ।
त्यसो भए आणविक विष्फोटन र हाइड्रोजन विष्फोटनमा फरक के छ त ? यो कुरा थाहा पाउनु जरूरी छ । आणविक विष्फोटन र हाइड्रोजन विष्फोटनको विष्फोटन हुने प्रक्रिया कति फरक छ ?
परमाणु (आणविक) बममा विष्फोटक शक्तिको आधारमा नाभिकीय (आणविक) प्रतिक्रिया हुन्छ । यसको विध्वंशक शक्ति नाभिकीय प्रतिक्रियामा हुन्छ । यसले नाभिकीय मिलन (न्युक्लियर फ्युजन) र नाभिकीय विच्छेदन (न्युक्लियर फिसन) अर्थात् अति तिब्र आणविक ‘एकता र विच्छेदन’ को क्रियाप्रतिक्रियाद्वारा आफ्नो प्रभावलाई बिस्तार गर्दै उर्जा रहँदासम्म विष्फोट हुँदैजान्छ ।
त्यसैले यसलाई दोस्रो विश्व युद्धदेखि महाविनाशकारी हतियारका रूपमा लिइँदै आएको हो । यसको सुरूको विकास ‘ब्लक बस्टर’ बाट भएको थियो । ब्लकबष्टरमा ११ टन टीएनटी प्रयोग गरिएको थियो । यसको आधारमा निर्मित पहिलो परमाणु बमचाहिँ ब्लक बष्टरभन्दा २,००० गुणा बढी शक्तिशाली थियो । परिमार्जित आधुनिक परमाणु बम त यो भन्दा कैयौं गुणा घातक र शक्तिशाली छन् । तर हाइड्रोजन बमको आगमनले परमाणु बम बिस्तारै छायाँमा पर्दै जाने सङ्केत मिल्न थालिसकेको छ ।
हाइड्रोजन विष्फोटकको अनुसन्धान र प्रयोग सुरूआती कालमा स्वच्छ ऊर्जा निर्माणका लागि गरिएको थियो । नवनिर्मित विष्फोटन यसभन्दा पहिले प्रयोगमा ल्याइएका आणविक विष्फोटकको तुलनामा ऊर्जा र तापको प्राचुर्यताका हिसाबले निकै शक्तिशाली छ । यो ऊर्जा अबका दिनमा ‘दोहोरो मापदण्ड’ मा प्रयोगमा आउने देखिएको छ ः एउटा विशुद्ध ऊर्जा र अर्को हाइड्रोजन बम !
यदि यसलाई युद्धक–प्रयोजनमा ल्याइयो भने यो सुरक्षित रूपमा निस्चित इलाकामा पनि यसको प्रयोग हुने अनुमान सैन्य क्षेत्रमा गरिन थालिएको छ । भूमिगत बङ्कर र पानीमुनि पनि यसको विशिष्ट प्रभावकारिता रहेको देखिएको चर्चा सैन्य क्षेत्रमा व्यापक छ । यसले सिङ्गो सुरक्षाका क्षेत्रमा नयाँ बहस निम्त्याएको छ ।
चीनले केही वर्ष पहिले ‘नयाँ सूर्यको आविष्कार’ गरेको कुरा विश्व चर्चामा चुलिएको थियो । दश हजार डिग्री सेल्सियस तापमानमा देखिएको यो कृत्रिम सूर्य आणविक ऊर्जाबाट निर्माण गरियो कि हाइड्रोजन तत्वबाट भनी विश्वभर गम्भीर टिकाटिप्पणी भइरहेको थियो पनि । धरै वैज्ञानिक यो कुरामा सशङ्कित थिए पनि । तर आज यो कृत्रिम सूर्य हाइड्रोजनबाट बनाइएकोमा शङ्का रहेन ।
परिणमतः आज विश्वले गैरपरमाणु बमको खुड्किलो उक्लन पाएको छ ।