काठमाडौं । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ । यहाँ एक वर्षका बच्चाले सर्पलाई टोकेर मारेका छन् ।
यो अनौठो घटना मझौलिया ब्लकको मोहछी बनकटवा गाउँको हो । एक वर्षीय गोविन्द कुमारले विषालु कोब्रा सर्पलाई दाँतले टोकेर मारेका छन् । यो घटनाले गाउँले र डाक्टरलाई पनि आश्चर्यचकित बनाएको छ ।
परिवारका अनुसार बच्चा घरमा खेलिरहेका थिए । यसै क्रममा उनले अचानक सर्पलाई समाते । हजुरआमाले देख्दासम्म गोविन्दले सर्पलाई दाँतले चपाइसकेका थिए । सर्पको मृत्यु भयो भने बच्चा भुईँमा बेहोस भएर लडेका थिए । परिवारले उनलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको जानकारी गराएका हो ।
तर, त्यहाँबाट बच्चालाई बेतियाको सरकारी मेडिकल कलेजमा रिफर गरिएको थियो । अस्पतालका सुपरिटेन्डेन्ट डा. दुर्वाकान्त मिश्राले बच्चालाई निगरानीमा राखिएको बताए । डाक्टरहरूले उनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् ।
विषाक्तताको कुनै लक्षण देखा परेमा उनलाई तुरुन्तै विषाक्तता विरोधी उपचार दिइनेछ । यद्यपि, अहिलेसम्म बच्चाको अवस्था स्थिर रहेको बताइएको छ ।
यो घटना स्थानीय स्तरमा मात्र चर्चाको विषय नभई सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । एकातिर यसलाई बच्चाको साहसिक प्रतिक्रिया मानिएको छ भने अर्कोतर्फ यो निकै चिन्ताजनक घटना हो । यसले बच्चाहरूको सुरक्षाबारे कति ध्यान दिनुपर्छ भन्ने देखाउँछ ।