इतिहासकारले वैदिक सभ्यतालाई पूर्ववैदिक अर्थात् ऋग्वेदकालीन सभ्यता र उत्तरवैदिक सभ्यता भनी दुई चरणमा वर्गीकरण गरेका छन् । पूर्ववैदिक सभ्यता ऋग्वेद रचना भएको समयलाई आधार मानी नामकरण गरिएको प्राचीन सभ्यता हो । हुन त ऋग्वेद नै कुन समयमा रचना भएको हो भन्ने कुरा नै अझै एक्किन हुन सकेको छैन । इतिहासविद् डा. मैक्समुलाले ऋग्वेद इ.पू. १२०० को हो भनेका छन् । बाल गंगाधर तिलक र डा. यकिविले ऋग्वेद इ.पू. २५०० को भनेका छन् ।
दिक्षितले ऋग्वेद इ.पू. ३००० वर्ष पहिलेको मानेका छन् । यसैगरी डा. हुनोपिन्कलाले एसिया माइनर वा टर्कीमा प्राप्त पछिल्लो शिलालेखको आधारमा ऋग्वेद इ.पू. १४०० को हो भनेका छन् । डा. पिन्कलाकै भनाइ सबैभन्दा भरपर्दो मानिएको छ ।
डा. पिन्कलाको भनाइलाई स्थापना कालको आर्यनहरूको पहिलो देश, प्रारम्भको मध्यदेश पछिको अयोध्याकै प्रथम राजा मनुको राजवंशावलीले पनि पुष्टि गर्दछ । सो भनाइलाई पुष्टि गर्ने अन्य आधारहरू गौतम बुद्धको जन्म, महाभारतको युद्ध र महाभारतको युद्धमा नेपालको तर्फबाट पाण्डवको पक्षमा सेना पठाई सहयोग गर्ने सातौँ पुस्ताका किराँत राजा जितेदस्तीको कार्यकाल हो । स्तम्भकारको पछिल्लो खोज अनुस्न्धानको निष्कर्ष पनि ऋग्वेद इ.पू. १४०० मै प्रचलनमा आएको भन्ने नै छ । वैदिक सभ्यतासँग सम्बन्धित चारवेदको रचना र त्यसको प्रचलनको बारेमा पनि उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
वास्तवमा प्रारम्भमा ऋग्वेद, ऋग्वेदकै नामबाट रचना गरिएको थिएन । प्रचलनमा ल्याइएका चारवेदमा अनेकौँ ऋर्षि महर्षिहरूको विचारको सम्मिश्रण छ । यी वेदहरू कुनै ऋषि विशेषले मात्रै रचना गरेका होइनन् । रचनाकालमा कुनै वेदको पनि नाम उल्लेख गरिएको थिएन । विभिन्न ऋषि महर्षिद्वारा रचित स्तुतिपरक, यज्ञपरक, अर्तिउपदेशपरक, सदआचरण र व्यवहारपरक, सेवापरक, यन्त्र अनुष्ठानपरक, आज्ञापरक, देवदेवीलाई खुसी पर्ने मनोरञ्जनपरक र ज्ञात अज्ञात त्रुटिबारेमा प्रायश्चितपरक छरिएर रहेका सबै ज्ञानबद्र्धक जति मन्त्रलाई कृष्णदैपायन ब्यासले विषयवस्तु र उद्देश्यको आशयको आधारमा मिल्दोजुल्दो मन्त्र समेटेर चार समूहमा विभाजन गरेका थिए । चार समूहमा वर्गीकरण गर्ने क्रममा कृष्ण दैपायन ब्यासले निम्नअनुसारको नामकरण पनि गरेका थिए ।
कृष्णदैपायन ब्यासले देवताप्रतिको पुकार र स्तुतिपरक मन्त्रको समूहलाई ऋकु नाम दिएका थिए । त्यही ऋकु मन्त्रको समूह नै पछि ऋग्वेद भयो । यसैगरी ब्यासले देवदेवीप्रतिको आस्था र यज्ञ अनुष्ठानसम्बन्धी सबै मन्त्र समेटर त्यो मन्त्रको समूहलाई यजुस नाम दिएका थिए, त्यही यज्ञुस पछि यजुर्वेदको नामबाट परिचित भयो ।
यस्तै ब्यासले मनोरञ्जनात्मक वा आरधनात्मक मन्त्रहरूको समूहलाई सामन नाम दिएका थिए । ब्यासले राखेको सामन नाम नै पछि सामवेद भयो । यसैगरी ब्यासले देवदेवीप्रति गरिएको प्रायश्चितपरक एवं तन्त्र, मन्त्र र सिद्धिको वर्णन भएका सबै मन्त्रको समूहलाई अर्थवन नाम दिएका थिए । त्यही अर्थवन पछि अर्थववेद भयो ।
स्मरण रहोस् ऋषि महर्षिद्वारा रचित छरिएर रहेका सबै मन्त्र समेटी चार समूहमा वर्गिकरण गरेपछि कृष्णदैपायन ब्यासको नाम नै त्यसपछि महर्षि वेदब्यास भयो । महर्षि वेदब्यासको जन्म नेपालकै तनहुँ जिल्लामा भएको थियो । मन्त्रहरूको समूहलाई चार भागमा महर्षि वेदब्यासले कहिले वर्गिकरण गरेका थिए ? भन्ने कुरा पनि एक्किन भएको छैन । तथापि महर्षि वेदब्यासले नै महाभारतको युद्ध समाप्त भएपछि युद्ध वृतान्त समेटेर महाभारतको रचना गरेको आधारले उनी इ.पू. ७-८ सयतिरका हुन सक्ने अनुमान गरिएको छ । वेदमध्ये सबैभन्दा पुरानो मानिएको ऋग्वेदकालको वैदिक सभ्यता कस्तो थियो ? भन्ने कुरा अवगत गर्न हामीले त्यसताकाको विविध पक्ष सम्बद्ध सामाजिक झलक हेर्नुपर्ने हुन्छ ।
त्यही वैदिक सभ्यता नै अहिलेको २१औँ शताब्दीको सभ्यताको स्रोत हो भन्दा अत्युक्ति नहोला । वैदिक सभ्यताकाकै कतिपय सामाजिक व्यवहार यद्यपि अवलम्बन हुँदै आएका छन् । जुन हाम्रो र भावी पुस्ताकै निम्ति प्रेरणाको स्रोत बनिरहेको छ । वैदिक सभ्यताको पृष्ठभूमि पूर्ववैदिककालबाटै बन्दै आएको थियो ।
प्राचीनकालमा विकसित वैदिक सभ्यताको मुख्य केन्द्रबिन्दु ब्रह्मपुत्र नदी पश्चिम, सिन्धु नदी पूर्व, अहिलेको भारतीय महासागर उत्तर र हिमालय पर्वत दक्षिण यति चारकिलाभित्रको विशेष गरी प्राचीन भारत वर्षमा विकसित भएको थियो । वैदिक सभ्यताकालमा समाजको राजनैतिक सामाजिक र आर्थिक अवस्था यस्तो थियो ।
वैदिक सभ्यताकालमै राजतन्त्र र गणतन्त्रबारेको चर्चा वेदमै उल्लेख गरिएको छ । त्यसताकाको राजनीतिको मुख्य आधारशिला नै ग्राम हुन्थ्यो । ग्राम वा अहिलेको गाउँको प्रमुखलाई ग्रामीण भनिन्थ्यो । गाउँको शान्ति सुरक्षा तथा अमनचैनको सबै जिम्मेवारी ग्रामीणकै हुन्थ्यो ।
ग्रामीणभन्दा माथिल्लो तहमा बीस हुन्थे । बीसअन्तर्गत धेरै गाउँको समूह पर्दथ्यो । अहिलेको जसरी भन्दा यो हालको जिल्लास्तरीय जस्तै ठूलो भौगोलिक क्षेत्र मानिन्थ्यो । बीसको प्रमुख बीसपति हुन्थे । यसैगरी धेरै बीस मिलेर जन बन्दथ्यो । जनको प्रमुखलाई ज्येष्ठ भनिन्थ्यो । पाँच जना जनप्रमुख मिलेर पञ्च जनह बन्थ्यो । यी पञ्च जनहको चर्चा ऋग्वेदमा पनि गरिएको छ । स्थानीय प्रशासनको सबैभन्दा माथिल्लो पदमा गोप हुन्थ्यो । गोपहरू प्रायःजसो राजाहरू नै हुन्थे ।
ऋग्वेदकालमा मानिसहरू कबिला वा समूहमा बस्थे । हरेक कबिलाका अलग अलगै राजा हुन्थे । ऋग्वेदमा राजालाई राजन भनी उल्लेख गरिएको छ । राजा वा राजनका सहयोगीहरू मन्त्री हुन्थे । राजाको कामलाई सभा र समितिले वैधानिकता दिन्थे । गणराज्यको वर्णन ऋग्वेदमै गरिएको छ ।
गणराज्यकै प्रमुख स्थानीय व्यक्तिबाटै छनोट हुन्थ्यो । छनिएको गणप्रमुखलाई गणपति भनिन्थ्यो । गणपतिले जनताको हितमा कार्य गर्नुपर्दथ्यो । वैदिक सभ्यताकालमा राजालाई स्वैच्छाचारी बन्न नदिन तथा राजाको शक्तिलाई सीमित अवस्थामै राख्ने उद्देश्यले सभा र समितिको व्यवस्था गरिन्थ्यो ।
सभा समितिले राजालाई लगाम लगाएर निश्चित बाटोमा हिँडाउने कार्य गथ्र्यो । सभा भन्नाले ठूलाबडा वा धनीमानीहरूको संघ भन्ने बुझिन्थ्यो । अर्थव वेदमा सभालाई समितिको बहिनी भनिएको छ । सभाको बैठक प्रार्थनाबाट प्रारम्भ हुन्थ्यो ।
प्रार्थनामा राजा र समिति एवं सभाका सदस्यहरूबीच सम्बन्ध राम्रो होस् भन्ने कामना हुन्थ्यो । सभाको बैठकमा राजनीतिक मात्र होइन गैरराजनीतिक विषयमा पनि छलफल हुन्थ्यो । समितिको भूमिका सभाको भन्दा उच्च थियो । समितिले नै राजाको छनोट एवं परिवर्तन गर्दथ्यो । समितिले न्यायालयको कार्य पनि गर्दथ्यो ।
राज्यको सर्वोच्च सत्ता समितिकै हातमा हुन्थ्यो । समितिमा गाउँ समाजका सबै प्रकारका मानिसहरूको प्रतिनिधित्व हुने व्यवस्था थियो । वैदिक कालको समिति अहिलेको प्रतिनिधि सभा जस्तै थियो । इतिहासविद् प्राध्यापक कीथले, सभा र समिति एउटै थियो भनेका छन् ।
उनले सभा छुट्टै समूह होइन समितिको बैठक बस्ने स्थल मात्रै हो भन्ने दृष्टिकोण राखेका छन् । तर प्राध्यापक कीथको यो दृष्टिकोणलाई “जुन सभामा वृद्ध पुरुष छैनन् र धर्मको कुरा गर्दैनन् त्यो सभा होइन” भनी ऋग्वेदमा उल्लेखित शब्दले नै गलत साबित गर्दछ । वैदिक युगमा वृद्धको ठूलो सम्मान हुन्थ्यो भन्ने कुरा ऋग्वेदले नै बताएको छ । ऋग्वेदको पुरुष सूक्तमा “ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रीय, तीघ्राबाट वैश्य र पैतालाबाट शूद्रको जन्म भएको” उल्लेख गरिएको छ । यस भनाइले वैदिक युगमा जाति प्रथा वंशानुगत नभएको पुष्टि हुन्छ । काम वा व्यवसायको आधारमा जातिको पहिचान गरिन्थ्यो ।
काम कार्यको आधकारमा जोसुकै ब्राह्मण, क्षत्री, वैश्य र शूद्र हुन सक्थे । समाजमा सबैको स्थान उच्च थियो । ऋग्वेद कालमा प्रचलनमा रहेको प्रथा नै अहिले पनि हाम्रो संस्कृतिमा खुट्टा ढोग्ने र पैताला पूजा गर्ने प्रचलन यद्यपि समाजमा प्रचलित छ । वैदिक सभ्यताकालको परिवार पितृप्रधान थियो । परिवारको प्रमुख पिता नै हुन्थे । पिताको अर्ति उपदेश तथा निर्देशन सबैले मान्नुपर्दथ्यो । यो समयमा संयुक्त परिवार प्रथा कायम थियो । एकै परिवारमा चार पुस्तासम्मका ससदस्यहरू बस्थे ।
बाबुआमा, छोराबुहारी, नातिनातिनी, पनाति पनातिनसम्म सगोलमै बस्ने गर्दथे । आमाले घरभित्रको सबै काम हेर्नुपर्दथ्यो । परिवारका सबै सदस्यउपर आमाको व्यवहार समान हुन्थ्यो । परिवारमा नारीको स्थान सम्मानित थियो ।
वैदिक कालमा सामाजिक एवं धार्मिक कार्यमा महिला पुरूष समान रूपमै सहभागी हुन्थे । छोरीको सहमतिमा पिताबाट बरको छनोट हुन्थ्यो । पतिपत्नी आजन्म एक अर्काप्रति समर्पित रहन्थे । पारपाचुके वा सम्बन्ध विच्छेद गर्ने प्रचलन थिएन । समाजमा बालविवाह र सती प्रथा थिएन ।
समाजमा गोत्रको प्रचलन थियो । एकै गोत्रबीच वैवाहिक सम्बन्ध हुँदैनन्थ्यो । ऋग्वेदमा योश, अंपला र विशमारा जस्ता विदुषीको नाम उल्लेख भएबाट त्यसताका नारी शिक्षालाई प्रोत्साहित गरिएको प्रमाणित हुन्छ । ऋग्वेदकालमा शिक्षा गुरूको आश्रममा लिइन्थ्यो ।
जनमानसमा शिक्षा शारीरिक एवं आध्यात्मिक विकासका निम्ति लिनुपर्दछ भन्ने मान्यता थियो । शिक्षालाई जीवनको प्रक्रिया, अनुशासनको विकास र मस्तिष्कको विकास यन्त्र मानिन्थ्यो । सांसारिक वस्तुको मोह त्याग र परमात्माप्रतिको शक्तिको विकास नै शिक्षाको मुख्य उद्देश्य हुन्थ्यो । वैदिक युगको मुख्य पेसा कृषि र पशुपालन नै थियो । खुला फाँट, पातलो बस्ती र उर्बरा भूमि भएकोले अन्न उत्पादन गर्न र चौपाय पालन गर्न कुनै कठिनाई पर्दैन्थ्यो । त्यस बखतको आर्थिक जीवन अत्यन्त सरल र सुखपूर्ण थियो ।
कृषि उत्पादन गर्ने भूमि वा ठाउँलाई उरभरा वा क्षेत्र भनिन्थ्यो । खनजोत गर्ने मुख्य साधन हलगोरू र हलो हुन्थ्यो । कृषि औजारको पनि प्रयोग हुन्थ्यो । परिवारका सदस्यहरूले नै सामूहिक रूपमा खेतबारीमा माटो खन्ने, भर्ने, अन्नको बीउ वा बेर्ना रोप्ने र पाकेपछि काटेर थन्क्याउने प्रचलन थियो ।
समाजमा गाईलाई पवित्र मानिन्थ्यो । गाईको दूधबाट बनेका परिकार स्वादिष्ट खाद्यवस्तु मानिन्थे । गाईबाहेक भेँडा बाख्रा र भैँसी पनि पालिन्थे । घरमा पालेको पाल्तु जनावरको संख्याको आधारमा एवं व्यापार व्यवसायको आधारमा परिवारको सम्पत्तिको लेखाजोखा गर्ने चलन थियो ।
वैदिक युगमा मानिसहरू पानीमा डुंगा र सडकमा मानिस वा जनावरद्वारा मालसामान ओसारपसार गरी व्यापार गर्दथे । व्यापारमा सामान साटासाट पनि गर्दथे । समाजमा सुनार, लोहरा, सिकर्मी सूचीकार वा बुनाहा जस्ता व्यावसायिक वर्गहरू क्रियाशील थिए । आर्यहरू प्रकृति पूजा गर्दथे । यिनीहरू आकाश, सूर्य, इन्द्र वरुण र पृथ्वीको पूजा गर्दथे । देवदेवीलाई स्वर्गका, वातावरणका र पृथ्वीका देदेवी भनी तीन भागमा विभाजित गरी पुजिन्थ्यो । स्वर्गका देवदेवीमा आकाश, सूर्य, चन्द्र, वरुण मानिन्थे । वातावरणका देवेदवीमा वायु, बर्षा र पृथ्वीको देवदेवीमा पर्वत, नदीनाला, जल वृक्ष पर्दथे ।
त्यसताका ईश्वरलाई खुसी पार्न बलि चढाउने प्रचलन थियो । साधारण मानिसहरूले दूध, घिउ र अन्न चढाएर देवीदेवताको पूजा गर्दथे । राजाहरू भने अश्वमेध यज्ञ गर्दथे । समाजमा प्रचलित प्रमुख खाद्यमा जनाबरको मासु, तरकारी, भात, जौँ गेँडागुडी थिए । ऋग्वेदकालमा सुरा र सोमपान गर्ने चलन पनि थियो । मानिसहरू जौँ र अन्नको सुरा, फलफूल र बिरुवाबाट सोमरस बनाउँथे, फलफूल खाने प्रचलन पनि थियो ।
वैदिक युगमा मानिसले लगाउने लुगालाई वस्त्र भनिन्थ्यो । शरीरको माथिल्लो भागमा लगाउने लुगालाई अधिभसास र तल्लो भागमा लगाउनेलाई भसास भनिन्थ्यो । भित्री लुगा लगाउने चलन त त्यसपछि नै सुरु भएको थियो । भित्री लुगालाई निभी भनिन्थ्यो ।
मानिसहरू सुती र उनी दुवै प्रकारका लुगा लगाउँथे । जंगलमा बस्ने ऋषिमुनिहरू मृगको छालाबाट बनेको लुगा लगाउँथे । ऋग्वेद कालमा महिला र पुरुष दुवैले गहना लगाउँथे । पुरुषले कानमा लगाउने गहनालाई कर्ण सोभा, पाखुरामा लगाउनेलाई खादी र घाँटीमा लगाउने सुनको हारलाई निष्क भनिन्थ्यो ।
गीत, नृत्य, रथ दौड र कुस्ती त्यसबेलाका लोकप्रिय खेल थिए । मानिसहरू उच्च नैतिक आचरणयुक्त र अनुशासित हुन्थे । समाजमा चोरी, डकैती र हत्याजस्ता घटना नै हुँदैनथे । रोग र मृत्युसँग कुनै चिन्ता गर्ने चलन नै थिएन । अहिलेको सभ्यताको स्रोत मानिएको उल्लेखित वैदिक सभ्यताको अनुकरणीय पक्षलाई हामीले प्रेरणा स्रोत मानी निरन्तरता दिनु उपयुक्त हुन्छ ।