कास्की । आफ्नो वडामा मात्रै १० करोड ५० लाखभन्दा बढीको बजेट छुट्याएका गण्डकीका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको जिम्मेवारी खोसिएको छ । पाण्डे तनहुँको भानु नगरपालिका—९ चितीपानीका हुन् ।
उनको वडामा मात्रै विभिन्न मन्त्रालयबाट योजना कार्यान्वयन हुने गरी १० करोड ५० लाख रुपैयाँ बराबरका कार्यक्रममा बजेट छुट्याइएको छ ।
यसबाहेक उनको पालिकाको बजेट पनि कम छैन । उनको पालिका भानुमा मात्रै आगामी आर्थिक वर्षको लागि विभिन्न कार्यक्रममा ३८ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्ने कार्यक्रम पुस्तिका वार्षिक विकास कार्यक्रम सार्वजनिक गरेपछि सचिवविरुद्ध प्रदेशसभामा सत्तादेखि प्रतिपक्षका सांसदहरूले आवाज उठाएका थिए ।
गण्डकीको बजेटमा निलो कोट हाबी भएको भनेर असन्तुष्टि सांसदले पोख्दै मन्त्रालयको सचिव प्रदेश बाहिरको ल्याउन सुझावसमेत दिएका थिए ।
सांसदहरूको चर्को दबाबपछि प्रदेशसभामा जवाफ दिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भनेका थिए,‘आर्थिक वर्ष ८२—०८३ को बजेट बनाउँदा ‘निलोकोट’ अर्थात् कर्मचारी हाबी भएको विषयलाई अति गम्भीरतापूर्वक लिएको छु ।’
सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी खोसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा पठाएको छ ।
उसो त बजेट बनाउने क्रममा सांसदहरूले आर्थिक मामिलामन्त्रीलाई नै बाहिर जान भनेर मनलाग्दीरूपमा योजना तथा कार्यक्रम थपेको आरोप लगाएका थिए । प्रदेशसभामा नै यो विषयमा पनि कुरा उठेको थियो ।