काठमाडौं । इरानको परमाणु ऊर्जा संस्था (एईओआई) ले देशका तीनवटा परमाणु केन्द्रमा भएको अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ ।
बीबीसीका अनुसार पूरै घटनामा उदासीन बन्नुका साथै मिलेमतोसमेत देखिएको भन्दै एईओआईले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) को समेत आलोचना गरेको छ । संगठनले यी आक्रमणको स्पष्ट निन्दा गर्न र इरानको पक्षमा समर्थन जनाइदिन अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरेको छ ।
संस्थाले थप स्पष्ट पार्दै भनेको छ, ‘शत्रुहरूको दुर्भावनायुक्त योजनाहरूका बाबजुद इरानी वैज्ञानिक र प्राविधिकहरू देशको परमाणु कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछन् ।’
संस्थाले जारी गरेको विज्ञप्तिमा आक्रमणपछिको प्रतिक्रियास्वरूप आवश्यक कदमहरू चाल्ने चेतावनी दिइएको छ । यसमा कानुनी कारबाहीसमेत समावेश हुने उल्लेख छ । इजरायलसँग हानाहान परिरहेको बेला शनिबार राति इरानका परमाणु केन्द्रमा बमबारी गर्दै अमेरिका पनि युद्धमा होमिएको छ ।