जेठ १०, सान डिएगो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान गएको बिहीबार बिहान ३ः४७ बजे विद्युतको तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।
उक्त विमान चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा थियो । दुर्घटनामा उनीसहित अरू पाँचजनाको ज्यान गएको छ । सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भाग खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ ।
संघीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, ‘हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ । यो कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । त्यस समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रले काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपत्कालीन सन्देश पनि नपठाएको जनाइएको छ । सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।