• जेष्ठ ९ २०८२, बिहीबार

नवनियुक्त गभर्नर विश्व पौडेल को हुन् ?

जेष्ठ ८ २०८२, बुधबार

काठमाडौं ।  सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र दिनेश भट्टराई रहेका थिए ।

को हुन् विश्व पौडेल ?
नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।

पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा लिने गरिन्छ । पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए । अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।

नवनियुक्त पौडेलको घर चितवन हो । उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।