• फाल्गुन २३ २०८२, शनिबार

६१औं विद्यार्थी दिवसको अवसरमा हिमाल शर्मासहितका विद्यार्थी नेताहरु सम्मानित

जेष्ठ २ २०८२, शुक्रबार

काठमाडौं । ६१औं विद्यार्थी दिवसको अवसरमा माओवादी धाराका अखिल क्रान्तिकारी पूर्वअध्यक्ष तथा पदाधिकारीहरुलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आयोजनामा भएको कार्यक्रममा ती विद्यार्थीहरु नेतालाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा सहिद दिपेन्द्र शाही ‘प्रज्वल’ शाहीकी बहिनी मनिषा शाही, अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, पूर्वअध्यक्ष हिमाल शर्मा, क्रान्तिकारीकै पूर्वअध्यक्ष शरद रसाइली, पूर्णबहादुर सिंह, महासचिव दिपेन्द्र चलाउने, पूर्वअध्यक्ष प्रकाश शाही, पूर्वअध्यक्ष मिलन राई र सचिव रामबहादुर तिरुवा रहेका छन् ।

सो अवसरमा बोल्दै नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले राजनीतिमा सबैको इतिहास सुनौलो अक्षरले लेखिएको भन्दै माओवादी आन्दोलन पुनरगठन गर्ने बेला आएको बताए । उनले सो पुनरगठन संस्कृति, शिक्षा र अर्थतन्त्र आदिमा हुनु पर्नेमा जोड दिए ।

एक प्रसंगमा बास्तोलाले वैज्ञानिक समाजवाद स्थापना गर्ने सर्तमा विज्ञान सम्मत तथ्यहरु जम्मा गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए । उनले साम्राज्यवाद सामु माओवादी नेतृत्व टिक्न नसक्दा माओवादी आन्दोलन समाप्त भएको बताए ।
साथै उनले कसैले कसैलाई सरापेर मात्र नपुग्ने भन्दै राणाकाल देखि नै विद्यार्थीहरुले पहल गरेर राजनीतिक आन्दोलन अगाडी बढेको बताए ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा आज सम्मानित भएका नेता हिमाल शर्माले वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दु बनाएर बहस गरेमा माओवादी आन्दोलन पुनर्गठन हुनसक्ने बताए । नेता शर्माले माथिका नेता जुटे हामी पनि जुट्नु पर्ने, नेता फुटे हामी पनि फुट्नु पर्ने अवस्थाको अन्त्य गर्दै समाजवादको मुद्दामा बहस गर्दै सबै एक ठाउँमा आउनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाइलीले आज आफू सम्मानित हुँदा आफू लागेको आन्दोलनलाई भुल्न हुँदैन रहेछ भन्ने अनुभव भएको बताए । एक प्रसंगमा उनले विद्यार्थी आन्दोलन कमिसनमा विक्री भएका कारण समाप्त भएको गुनासो गरे ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता तथा आज सम्मानित भएका अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पूर्णबहादुर सिंहले बिगतको आन्दोलनको स्तुति गान मात्र गाएर नहुने बताए । नेता सिंहले जसले हिजो आफूलाई क्रान्ति गर्न पर्छ भनेर सिकाए आज उनै नेताहरु निरास भएको बताए ।

विद्यार्थी आन्दोलनको गौरवको सन्दर्भमा नेता सिंहले विद्यार्थी आम्दोलन बाघ हो भन्नेहरु आज श्यालको जस्ता कुरा गरेर हिँडिरहेको भन्दै आक्रोस व्यक्त गरे । त्यस्तै सो अवसरमा मन्तव्य राख्दै अखिल क्रान्तिकारीका पूर्वमहासचिव दिपेन्द्र चलाउनेले समग्र विद्यार्थी आन्दोलनको समिक्षा गर्दै आगामी आन्दोलनको योजना बनाउन पर्ने बताए ।

सो अवसरमा मन्तव्य राख्दै क्रान्तिकारीका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिए । आज सम्मानित भएका अर्का विद्यार्थी नेता प्रकाश शाहीले बिगतको पाठ सिकेर अबको विद्यार्थी आन्दोलन उठाउन पर्नेमा जोड दिए ।

अर्का वक्ता अखिल क्रान्तिकारीका अर्का पूर्वअध्यक्ष मिलन राईले विद्यार्थी दिवस एकता, वीरता र गौरवको दिन भएको भन्दै बेपत्ता पारिएका विद्यार्थीको अवस्था सार्वजनिक गर्न माग गरे । सो कार्यक्रमका अर्का वक्ता ताथ आज सम्मानित अर्का विद्यार्थी नेता रामबहादुर तिरुवाले वैज्ञानिक समाजवाद व्यवस्था नआउँदासम्म विद्यार्थी आन्दोलन रोक्न नहुनेमा जोड दिए ।
कार्यक्रममा माओवादी आन्दोलनका सहिद परिवार, बेपत्ता योद्धाका परिवार  लगायतको उपस्थिति थियो । कार्यक्रममा जनसाँस्कृतिक महासंघका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाह र कार्यक्रमको संचालन उषाकिरण आजादले गरेका थिए ।