• जेष्ठ १ २०८२, बुधबार

विनियोजन विधेयकमाथि माओवादी टिप्पणी, ‘बनेपा जाने लक्ष्य राखेर पाइला चाहीँ थानकोटतिर चालेको’

बैशाख ३० २०८२, मंगलवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताए । उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गरे ।

उनले आफूहरुले विगतमा भएका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रश्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताए । उनले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहीँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहीँ थानकोटतिर बढाइरहेको जस्तो अनुभुति हुने थुप्रै विषयवस्तुहरु छन् । म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन । म आशा गर्छु यसपटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनुहुने छैन । विगतमा भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । हामी प्रतिपक्षि दल भएको कारण केही आत्म आलोचना र केही प्रतिवद्धतासहित प्रश्तुत भइरहेका छौँ । सरकार त्यही आधारमा अघि बढोस् म शुभकामना पनि व्यक्त गर्न चाहन्छु । व्यवस्था र अवस्थाबीचको विरोधाभास बेला बेला भइरहेको छ । अब सहकारीसहितको मिश्रित अर्थतन्त्र, अर्थव्यवस्था हाम्रो आर्थिक सिद्धान्त हो र हाम्रो बजेटको सिद्धान्त हो भन्ने कुरामा कहीँ कतै अल्मलिनुपर्ने आवश्यकता छैन ।’

आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ ।