• जेष्ठ २७ २०८२, सोमबार

भारत–पाक युद्ध रोक्न मध्यस्थता गर्न तयार छु : ट्रम्प

बैशाख २५ २०८२, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन् । जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा भारतले बुधबार राती पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो ।

पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । भारतले पाकिस्तान–नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर त्यसको जबाफ दिएको छ । भारतीय आक्रमणका कारण महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।

उता भारतले पनि कश्मिरमा पाकिस्तानले गरेको जवाफी गोलाबारीमा १३ सर्वसाधरणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ । यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच पूर्णस्तरको युद्ध हुने खतरा बढाएको छ ।
यस्तोमा ट्रम्पले भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन् । ‘मैले केही गर्नसक्ने भए गर्छु,’ ट्रम्पले भने, ‘मेरो दुवै पक्षसँग राम्रो सम्बन्ध छ । म दुवैलाई धेरै राम्ररी जान्दछु र म उनीहरूले यो मिलाउन् भन्ने चाहन्छु ।’

हवाई आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी विदेशमन्त्री मार्को रूबिओलाई फोन गरेर ब्रिफिङ गरेका थिए । रूबिओसँग पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल मोहम्मद असिम मलिकले पनि कुरा गरेका छन् ।

भारतले अमेरिकासँगै बेलायत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र रूसलाई पनि बुधबारको हमलाबारे ब्रिफिङ गरेको छ । यसैबीच संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, रूस, फ्रान्स लगायत धेरै देशले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।

युद्ध नभएका बेला भारतले पाकिस्तानमाथि गरेको सबभन्दा ठूलो हमला भएकाले पूर्ण युद्ध सुरू हुनसक्ने खतरा महसुस गरेर उनीहरूले यस्तो आग्रह गरेका हुन् । यस्तोमा ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन् ।