• बैशाख १८ २०८२, बिहीबार

भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने

बैशाख १८ २०८२, बिहीबार

१८ वैशाख, काठमाडौँ । विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो ।

भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर ढल्केबर लाइनबाट बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घण्टाको लागि ६०० मेगावाट बिजुली आयात गर्न थप स्वीकृति दिएको छ । यसअघि सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र स्वीकृति दिइएको थियो ।

भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने यसअघि नै अनुमति दिएको छ । तर पछिल्लो समय भारतमा नै विद्युत् माग बढेको भन्दै नेपालले मागे जति विद्युत् दिन सकेको थिएन । तर अब दैनिक १५ घण्टा ६०० मेगावाट बिजुली खरिद गर्ने अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले थप दुई महिनाका लागि ६ सय मेगावाट बिजुली निर्यातका लागि स्वीकृत दिएको बताए । उनले विगतमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निर्यातका लागि स्वीकृत दिएपनि अब रातको २ बजदेखि बिहान ५ बजेसम्म पनि स्वीकृत दिएको बताए ।

त्यस्तै प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर आइरहेको बताए । उनले पिकआवरमा भारतबाट बिजुली खरिद गर्दा माग अनुरूप नपाएको बताए । उनले पुरानै सहमति अनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने भएको बताए ।
उनले भने, ‘पुरानै स्वीकृत अनुसार भारतबाट बिजुली आयात भइरहेको छ । १२ घण्टाको ठाउँमा थप भएर १५ घण्टा विद्युत् दिने भनिएको छ । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आइरहेको भए पनि अब बिहान २ बजेदेखि ६ बजेसम्म भनिएको छ ।’

प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले गत चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको थियो ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । भारतबाट बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइन मार्फत अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ बजे देखि ६ बजे र बेलुका ६ देखि ७ बजेगरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको थियो ।