काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन् ।
ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् ।
‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ । उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङले भने, ‘मलाईं उहाँले जसरी बर्खास्त गर्नुभयो, अब बर्खास्त हुने पालो उहाँको हो । यो अभियानमा लाग्छु ।’
पदबाट बर्खास्त गरिनुअघि उनलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले प्रधनमन्त्री ओलीले भन्दैमा राजीनामा नदिने अडान राखेका थिए ।
उनले आफूले राजीनामा दिन आफ्नै पार्टी नेपाली कांग्रेसले निर्देशन दिनुपर्ने बताए।‘पार्टीले फिर्ता बोलाउनुपर्यो नि, प्रधानमन्त्रीले बोलाउने हो र?,’ उनले भने, ‘म त खुसी नै छु। अनुभव भयो नि। तर मैले राजीनामा दिनुपर्ने कारण थिएन। मैले झन्डै प्रधानमन्त्रीकै जति भोट ल्याएर जितेको मान्छे पो हुँ त।’