• बैशाख १० २०८२, बुधबार

जम्मु–कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित मृत्यु हुनेको संख्या २४ पुग्यो

बैशाख १० २०८२, बुधबार

एजेन्सी । भारतको जम्मु–कश्मीर राज्यमा मङ्गलबार केही बन्दूकधारीहरूले पर्यटकहरूको एक समूहमाथि गोली प्रहार गरेका छन् ।

बन्दुकधारीहरूले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । जसमा सन्दीप न्यौपाने नामका एक नेपाली पनि परेका छन् । मारिनेमा अधिकांश हिन्दू धर्मावलम्बी पर्यटक छन् ।

यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । पाँच जनाको ज्यान गएको छ भने केही अन्य घाइते भएका छन्।

प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतङ्कवादी हमला भनेका छन् र आक्रमणमा जिम्मेवार जो कोहीलाई पनि नछोडिने बताएका छन्।

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण” भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयन सहितका विश्व नेताहरूले घटनाको भत्सर्ना गरेका छन्।

घटनापछि साउदी अरबको भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा घटनाको कडा शब्दमा निन्दा गरेका छन्। “आतङ्कवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,” उनले लेखेका छन्।