वैशाख ५, काठमाडौं । युक्रेन र संयुक्त राज्य अमेरिकाले बिहीबार किभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारीपत्रमा हस्ताक्षर गरेको किभ स्रोतले जनाएको छ ।
युक्रेनको पुननिर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारीपत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताइन् ।
किभ र वासिङ्टनले केही हप्ताअघि युक्रेनको खनिज उत्खनन गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो ।
ट्रम्पल भने पूर्वअमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा युक्रेनी स्रोत साधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको बताइएको छ ।
युलिया स्विरिडेन्कोले समझदारी पत्रको विवरण प्रकाशित नगरी अन्तिम सम्झौता कायम र सुरक्षित गर्न निरन्तर काम जारी रहेको बताएकी छन् । ‘युक्रेनको पुननिर्माण, पूर्वाधार विकास व्यापार सहयोग र आर्थिक अवसरका लागि लगानी आकर्षित गर्न यो कोष प्रभावकारी माध्याम बन्ने आशा छ,’ उनले भनिन् ।
अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढावा दिनाले युद्धविराम कायम गरी रुसलाई भविष्यको आक्रमणबाट रोक्न मद्दत गर्ने बताएका छन् । किभले भने निरन्तर रूपमा चलिरहेको युद्ध रोक्नका लागि सम्झौता तथा सैन्य सुरक्षा ग्यारेन्टीका लागि दबाब दिइरहेको छ ।