• चैत्र २५ २०८१, मंगलवार

इजरेली सेनाले १५ जना स्वास्थ्यकर्मी मार्यो, चिहानमा भेटिएको मोबाइलमा पाइयो भिडियो

चैत्र २३ २०८१, आईतवार

गाजा । इसराइली सेनाले १५ जना स्वास्थ्यकर्मीको हत्या भएको घटनामा आफ्नो गल्ती स्वीकार गरेको छ। गत मार्च २३ को बिहानीपख गाजाको राफा नजिक मानवीय सहायताका लागि एम्बुलेन्समा गएका १६ जनामध्ये १५ जना स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध गोली चलाएको थियो।

१५ स्वास्थ्यकर्मी मारिएको विषयमा सुरूमा आइडिएफले उनीहरू सवार गाडीमा साइरन जडान पनि नभएको र रातको समयमा डिम लाइट बालेर यात्रा गरिरहेकाले शंकास्पद लागेर गोली चलाइएको दाबी गरेको थियो।

आइडिएफले गाडीमा सवार रहेकाहरू स्वास्थ्यकर्मीको पोशाकमा नभएको पनि दाबी गरेका थिए। १५ मध्ये ६ जना हमासकै सहयोगी रहेको समेत उनीहरुको दाबी थियो।

घटनामा बँचेका एक जना स्वास्थ्यकर्मीले साइरन जडित गाडीमा आफूहरू गएको र स्वास्थ्यकर्मी पहिचान हुने पोशाक रहेको बताएका थिए। त्यतिबेला सबैजना निहत्था रहेको पनि उनले बताएका थिए।

यद्यपि आइडिएफ र इसराइलले उनको बयानलाई अस्वीकार गर्दै शंकास्पद भएर गोली चलाइएको दाबी गर्दै आएको थियो। इसराइलको दाबी त्यतिबेला झुट साबित भयो, जतिबेला चिहानबाट एकजना स्वास्थ्यकर्मीको शवबाट मोबाइल बरामद भयो र त्यसमा खिचिएको भिडिओ सार्वजनिक भयो।

उनीहरू मारिएको भनिएको ८ दिनपछि मार्च ३० मा शव भेटिएको थियो। भिडिओ नै सार्वजनिक भएपछि मात्रै इसराइली सैनिकले आफ्नो गल्ती भएको स्वीकार गर्दै त्यसमा छानबिन हुने बताएको छ। त्यो घटनाको ६ मिनेटको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा तीन वटा गाडी जाँदै सडकमा गइरहेको देखिन्छ।

बिबिसीका अनुसार एउटा गाडी संयुक्त राष्ट्रसंघको,एउटा रेडक्रसको र एउटा दमकल थियो। राफा नजिकैको एक ठाउँबाट मानवीय सहायताका लागि खबर आएपछि उनीहरू त्यो ठाउँका लागि प्रस्थान गरेका थिए।

भिडिओमा तीन वटा गाडी साइरन बजाउँदै गइरहेको देखिन्छ। केही बेरमा सडकको बायाँतर्फ एउटा गाडी देखिन्छ। एम्बुलेन्स रोकिन्छ र एकजना स्वास्थ्यकर्मी ओर्लिएर हेर्न जान्छन्।

भिडिओ गरिरहेका व्यक्तिले मानिसहरू जताततै ढलिरहेको भनेका छन्। यसको अर्थ त्यहाँ हमासका लडाकूहरू मारिएको हुन सक्छ। सहायताका लागि सबै स्वास्थ्यकर्मीहरू गाडी बाट झरेलगत्तै त्यहाँ गोलीको आवाज सुनिन्छ।

भिडिओ गर्ने स्वास्थ्यकर्मी मोबाइललाई भिडिओ रेकर्डिङ मोडमै राखेर भाग्छन्। उनले प्रार्थना गर्दै गरेको र गोली चलिरहेको आवाज पाँच मिनेटभन्दा बढी समयसम्म सुनिन सकिन्छ।

यो भिडिओ सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संस्थाहरुले इसराइलले युद्ध अपराध गरेको आरोप लगाएको छ। इसराइलले घटनाको निष्पक्ष छानिबिन हुने भनेको छ। त्यो भिडिओ रेफात रेबवान नाम गरेका स्वास्थ्यकर्मीले खिचेका थिए। चिहानबाट उनीसँगै बाँकी १४ जनाको शव पनि भेटिएको थियो।

बिबिसीले उक्त घटनामा बचेका स्वास्थ्यकर्मीसँग त्यसदिन के भएको थियो भनेर कुराकानी गरेको छ। उनले १५ जना मारिँदा आफू बचेको विश्वासै गर्न नसकेको बताएका छन्। उनले त्यसबेलाको त्रासदी सुनाए।

उनका अनुसार उनीहरू घाइतेहरूको सहयोगका लागि गएका थिए। त्यतिबेला बिहान हुन केही घन्टा मात्रै बाँकी थियो। गाडीमा साइरन बलिरहेकै थियो। त्यसमा सवार सबैजना निहत्था नै थिए। आफू एम्बुलेन्सको अन्तिम सिटमा रहेको बताएका छन्।

मानवीय सहायतका लागि खबर आएको ठाउँमा पुग्दा अकास्मात गोली चल्न थालेको उनले बताए। अगाडिको साथीले भिडिओ खिच्दै प्रार्थना गरिरहेको सुनेको उनले बताए।

‘त्यही बेला गोलीको आवाज नजिकै आयो। म लडेँ, र मेरो होस हरायो। जब मलाई होस आयो, वरिपरि शून्यता थियो। मेरा साथीहरू रगतमा लतपतिएका थिए, कोही चल्न छाडिसकेका थिए। मैले इजरायली सैनिकहरूको आवाज सुनेँ, उनीहरू गाडीहरू नजिक आइरहेका थिए। म घाइते भए पनि बोल्न र हल्लिन सकिनँ। मलाई लाग्यो, अब मेरो पनि अन्तिम समय आयो। तर, उनीहरूले मलाई देखेनन् कि छाडिदिए,’ उनले बिबिसीसँग भनेका छन्।
https://twitter.com/DropSiteNews/status/1908419861941727248