• चैत्र ६ २०८१, बिहीबार

युएसएड बन्द गर्ने निर्णय विरुद्ध अदालतको फैसला आएपछि रिसाए डोनल्ड ट्रम्प

चैत्र ५ २०८१, बुधबार

न्यूयाेर्क । मंगलबार एक संघीय न्यायाधीशले अर्बपति एलन मस्क र डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीद्वारा अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएड) बन्द गर्ने प्रयास असंवैधानिक रहेको ठहर गरेका छन् ।

मेरिल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश थियोडोर चुआङले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीलाई यूएसएड बन्द गर्ने थप कुनै कदम चाल्नबाट रोक लगाएका छन् ।

अदालतको अन्तरिम आदेशअनुसार, यूएसएडका सबै कर्मचारीलाई इमेल तथा कम्प्युटरमा पहुँच पुनर्स्थापित गर्नुपर्नेछ, जसमा प्रशासनिक बिदामा रहेका कर्मचारीहरू पनि समावेश छन् । यद्यपि, यस आदेशले संस्थाबाट हटाइएका कर्मचारीहरूलाई पुनर्बहाली गर्ने निर्णय भने गरेको छैन ।

न्यायाधीशको आदेशपछि वकिलको प्रतिक्रिया :

यूएसएड भंग गरिएकाे विरुद्ध हालका तथा पूर्व कर्मचारीहरूले दायर गरेको मुद्दामा न्यायाधीश चुआङले निर्णय सुनाएका हुन् । ‘आजको निर्णय एलन मस्क र डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीद्वारा यूएसएड, अमेरिकी सरकार र संविधानमाथि गरिएको आक्रमणविरुद्धको महत्त्वपूर्ण विजय हो,’ वकिल तथा स्टेट डेमोक्रेसी डिफेन्डर्स फन्डका कार्यकारी अध्यक्ष नर्म आइजनले भने ।

मुद्दा दायर गर्ने २६ जना कर्मचारीहरूले मस्कले यूएसएडमा अत्यधिक अधिकार प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरूले मस्क र डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीको कार्यशैली अमेरिकी संविधानविपरीत रहेको दाबी गरेका छन् ।

डोनाल्ड ट्रम्पको प्रतिक्रिया :
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीशको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । ‘म तपाईंलाई ग्यारेन्टी दिन्छु कि हामी यसविरुद्ध अपिल गर्नेछौं । हाम्रो देशलाई ध्वस्त पार्ने केही न्यायाधीशहरू छन्,’ ट्रम्पले भने ।

ट्रम्प र मस्क : अमेरिकामा ‘कू’ हुँदैछ ?
जनवरीमा ट्रम्पले शृंखलाबद्ध कार्यकारी आदेश जारी गर्दै अमेरिकी विदेशी सहायता (फरेन एड) ९० दिनका लागि रोक्का गरेका थिए । ट्रम्पको आदेशपछि मस्क र डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीले यूएसएडको भुक्तानी, इमेल पहुँच रोक्का गर्नुका साथै अधिकांश कर्मचारीहरूलाई बिदामा राखेका थिए । फेब्रुअरी ३ मा, मस्कले ट्विटरमा लेखेका थिए, ‘मैले सप्ताहन्त यूएसएडलाई वुड चिपरमा हालेर बिताएँ ।’