काठमाडौं । गएको फेब्रुअरी महिनामा विश्वभर १२ लाखभन्दा बढी विद्युतीय सवारी (ईभी) बिक्री भएका छन् । चीनमा मात्रै ईभीको बिक्री ७६ प्रतिशतले बढेको छ ।
बेलायती बेञ्चमार्क कम्पनी रो मोसनका अनुसार ईभी र हाइब्रिड गाडीको यो बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।
अमेरिका र युरोपले चीनमा निर्मित ईभी ब्रान्डमाथि कडाइ गर्न थालेका छन् । त्यसैले १२ लाखमध्ये एक तिहाई ईभी चीनमा बिक्री भएको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांक छ ।
चिनियाँ ईभी निर्माता बीवाईडीले अमेरिकी टेस्लालाई सन् २०२३ को चौथो त्रैमासिकमा कुल गाडी बिक्रीमा पछि पारेको थियो । चिनियाँ ईभीले विश्वभर आफ्नो बजार विस्तार गरेको छ ।