२८ फागुन, इस्लामावाद । पाकिस्तानका बलूचिस्तान प्रान्तमा रेल हाइज्याक भएपछि यात्रीहरूको उद्धार अभियान जारी छ । अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ भने कारबाहीमा २७ जना अतिवादी मारिएको पाकिस्तानका सुरक्षा स्रोतहरूले बताएका हुन् ।
रेल हाइज्याक गर्नेहरू अफगानिस्तानमा यसको योजनाकारहरूसँग सम्पर्कमा रहेको दाबी पनि सुरक्षा स्रोतहरूले गरेका छन् । रेलमा भएको आक्रमणको जिम्मेवारी पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले लिएको छ । यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो । रेलवे अधिकारीहरूका अनुसार रेलमा नौ वटा कोच थिए र त्यसमा ४०० भन्दा बढी यात्रु थिए ।
रेलमा सवार धेरै यात्रुहरूलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले बताएका छन् । मंगलबार सशस्त्र अतिवादीहरूले यात्रुले भरिएको रेल हाइज्याक गरेर यात्रुहरूलाई बन्धक बनाएका थिए ।