• फाल्गुन २७ २०८१, मंगलवार

युद्ध अन्त्य गर्न अमेरिकी मागप्रति युक्रेन सकारात्मक

फाल्गुन २६ २०८१, सोमबार

फागुन २६,काठमाण्डौं । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले रूससँगको युद्ध अन्त्यका लागि युक्रेन अमेरिकी मागप्रति सकारात्मक देखिएको जनाएका छन् । रुससँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकी अधिकारीहरूबीच मंगलबार साउदी अरबमा महत्त्वपूर्ण वार्ता हुँदैछ । वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज मंगलबार नै साउदी अरब जाँदैछन् । युक्रेनी राष्ट्रपति भ्लोदिमर जेलेन्स्की भने सोमबार नै साउदी अरब पुग्दैछन् ।

उनले सोमबार नै साउदी युवराज मोहम्मद बिन सलमानलाई भेट्दैछन् । यसअघ युक्रनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो हितका लागि ‘रचनात्मक वार्ता गर्न प्रतिबद्ध’रहेको बताएका थिए । ‘शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ,’ जेलेन्स्कीले आइतबार भनेका छन् । मध्यपूर्व (पश्चिम एसिया)लागि अमेरिकी विषेश दूत स्टिभ विट्कफले वासिङटन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम चाहेको’ बताएका छन् ।

यसअघि वार्ताका लागि अमेरिका पुगेका जेलेन्स्कीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की परेको थियो । ह्वाइ हाउसको ओभल अफिसमा भएको चर्काचर्कीपछि दुई देशबीच हुने भनिएको खनिज सम्झौता हुन सकेको थिएन । ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।

त्यसलगत्तै राष्ट्रपति ट्रम्पले युक्रेनमाथि दबाब बढाउँदै गएका छन् । मस्कोसँग तत्काल युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्विकार गर्नुपर्ने उनको माग छ । तर जेलेन्स्कीले भनेजस्तो युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि भने ट्रम्प तयार भएका छैनन् । युक्रेनलाई दबाब दिनकै लागि ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्यलगायत सहायता रोक्का गरिसकेको छ ।