• फाल्गुन २७ २०८१, मंगलवार

दक्षिण कोरिया–अमेरिकी सैन्य अभ्यास, उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

फाल्गुन २६ २०८१, सोमबार

फागुन २६, काठमाण्डौ । सोल — दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दुई देशबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्ने गरेको छ । यो उत्तर कोरियाले यस वर्ष प्रहार गरेको पाँचौं क्षेप्यास्त्र हो ।

उत्तर कोरियाको ह्वाङ्घाई प्रान्तबाट सोमबार क्षेप्यास्त्रहरू प्रहार गरिएको दक्षिण कोरियाको सेनाले जनाएको छ । तर ती क्षेप्यास्त्र कति टाढासम्म उडेका थिए भन्ने प्रष्ट नभएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले निगरानी स्थितिलाई बलियो बनाएको र अमेरिकासँग नजिकबाट समन्वय गरिरहेको बताएको छ ।

दक्षिण कोरिया र अमेरिकी सेनाले सोमबार सुरू गरेको अभ्यास ११ जुनसम्म चल्ने तालिका छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले दुई देशको संयुक्त सैन्य अभ्यासको निन्दा गरेको छ । उक्त अभ्यास ‘खतरनाक उत्तेजक कार्य’ भएको र ‘यसले सैन्य द्वन्द्वको जोखिम बढाउने’ उत्तर कोरियको भनाइ छ । गत साता दुई दक्षिण कोरियाली दुई लडाकु जेटले आवासिय क्षेत्रमा गल्तीले बमबारी गरेका थिए ।

त्यसबारे अनुसन्धान भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । उक्त घटनापछि दुई देशका सेनाले प्रत्यक्ष–गोलीबारी तालिम स्थगित गरेर ‘फ्रिडम शिल्ड कमाण्ड पोस्ट’ अभ्यास सुरू गरेका हुन् । बिहीबार उत्तर कोरियाली सीमा नजिकैको सहर पोचियोनमा दुई दक्षिण कोरियाली ‘केएफ–१६’ लडाकु जेटहरूले गल्तीले आठवटा ‘एमके–८२’ बम प्रहार गर्दा करिब ३० जना घाइते भएका थिए ।

तीमध्ये दुई जना गम्भीर छन् । घटनाबारे दक्षिण कोरियाली वायुसेनाले सोमबार पत्रकारहरूलाई जनाएअनुसार आफ्नो प्रारम्भिक मूल्यांकनमा ‘केएफ–१६’ का पाइलटहरू मध्ये एकले बम विस्फोट स्थलका लागि गलत निर्देशांकहरूमा प्रवेश गरेको देखिएको छ ।