बग्दाद । इराकस्थित अमेरिकी दूतावासका प्रवक्ताले अमेरिकाले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको आइतबार बताएका छन् ।
आफ्नो अपार तेल र ग्यास भण्डारको बावजुद पनि इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर रहन्छ, र इरानले त्यहाँ खपत हुने ग्याँस र बिजुलीको एक तिहाई आपूर्ति गर्दछ ।
“अमेरिकी विदेश मन्त्रालयले इराकलाई इरानी बिजुली खरिदका लागि मार्च ८ मा दिइएको छुटको नवीकरण गरेको छैन”, दूतावासका प्रवक्ताले भने, “यो निर्णयले अमेरिकी वर्तमान प्रशासनले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत दिने छैन भन्ने सुनिश्चित गर्दछ । वक्तव्यमा इरानी ग्यास आयातको बारेमा उल्लेख गरिएको छैन, जुन इराकको घरेलु बिजुली उत्पादनको लागि महत्वपूर्ण छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा इरानसँगको आणविक सम्झौता त्यागेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाए पछि उक्त छुटको घोषणा गरिएको थियो ।
गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा सपथ खाएपछि ट्रम्पले इरानविरुद्ध आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गरेका छन् ।
दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिको अधिकतम दबाब अभियान इरानको आणविक खतरा अन्त्य गर्न, ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई कम गर्न र आतङ्कवादी समूहलाई समर्थन गर्नबाट रोक्नको लागि डिजाइन गरिएको छ ।
इरानलाई ‘अविश्वसनीय ऊर्जा आपूर्तिकर्ता’ को संज्ञा दिँदै प्रवक्ताले बग्दादलाई ‘जतिसक्दो चाँडो इरानी ऊर्जा स्रोतहरूमाथिको निर्भरता अन्त्य गर्न’ आग्रह गरे ।
इराकी सरकारका प्रवक्ता बासेम अल–अवाडीले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताएअनुसार अधिकारीहरूले छुटको सम्बन्धमा ‘सबै परिदृश्यका लागि’ तयारी गरेका छन् ।
बग्दादले इरानमाथिको निर्भरता कम गर्न र विशेष गरी गर्मीयाममा इराकको दीर्घकालीन विद्युत कटौतीलाई कम गर्न ऊर्जा स्रोतहरू विविधीकरण गर्नुपर्ने आवश्यकतामा बारम्बार जोड दिँदै आएको छ ।