जेरुसलेम — प्यालेस्टिनी समूह हमासले विहीबार चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले १५ महिनादेखि हमासले गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा पहिलो पटक इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको छ । हमासले १५ महिनाअघि बन्धक बनाएका ८४ वर्षीय ओडेड लिफ्सिट्ज र सिरी विबास र उनका छोराछोरी एरियल र केफिरको शव हस्तान्तरण गरिएको हो ।
हमासले उनीहरूलाई ७ अक्टुबर २०२३ मा इजरायलबाट बन्धक बनाएर लगेको थियो । हमासले बिबास परिवारका तीन सदस्यको इजरायली आक्रमणमा मारिएको दाबी गरेको छ । तर त्यसबारे हमासले कुनै प्रमाण भने सार्वजनिक नगरेको बीबीसीले जनाएको छ । बन्धकको शव हस्तान्तरण भएसँगै इजरायली राष्ट्रपति आइज्याक हर्जोगले राष्ट्रको मन टुटेको बताएका छन् ।
हमासले आगामी शनिबार ६ जना बन्धकहरू रिहा गर्ने जनाएको छ । उनीहरूमध्ये दुईजनालाई सन् २०१४ र २०१५ मा बन्धक बनाइएको थियो । ४ जनालाई भने हमासले इजरायलबाट ७ अक्टुबर २०२३ मा बन्धक बनाएर लगेको हो ।