• माघ ३० २०८१, बुधबार

बुवाको हत्या गर्न छोराबुहारीले दिए सुपारी, ६ जना पक्राउ

माघ ३० २०८१, बुधबार

माघ ३०, काठमाडौं । इलामा सुपारी दिएर बुवाको हत्या गरेको खुलेको छ । इलाम सूर्याेदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गर्न उनकै छोराबुहारीले सुपारी दिएको खुलेको हो ।

धनराजको हत्याको आरोपमा प्रहरीले उनकै छोराबुहारी मंगेश भनिने एडवर्ड राई र २६ वर्षीया मालती तामाङसहित ६ जनालाई पक्राउ गरेको इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा सोही नगरपालिकाका २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् । प्रहरीको अनुसन्धानका क्रममा धनराजकै छोराबुहारी एडवर्ड र मालतीकै योजनामा उनको हत्या भएको खुलेको हो ।

आठ महिना अघिदेखि बुवासित मनमुटाब भएर छुट्टै बस्दै आएका उनीहरूले हत्या गर्न लगाएको खुलेको प्रहरीले बताएको छ । धनराजको शव सोमबार घरमै फेला परेको थियो । उनको रड प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ ।