काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ ।
सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सञ्चारमन्त्री गुरुङले ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।