• जेष्ठ १३ २०८२, सोमबार

ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : अध्यक्ष दाहाल

माघ २७ २०८१, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् ।

प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको दाहालले बताए ।

संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा दाहालले भने, ‘जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् ।

‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ,’ उनले भने ।
पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै उनले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए । उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरिह बनाएर वर्तमान सरकार गठन भएको जिकिर गरे ।