काठमाडौं । अमेरिकामा यतिबेला फ्लूका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । फ्लुको प्रकोपले गर्दा केही विद्यालयहरूले कक्षा सञ्चालन नै रद्द गर्नु परेको छ । केहीले अनलाइन पढाइ सुरु गरेका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस सिजनमा अहिलेसम्म कम्तीमा २ करोड ४० लाख मानिसहरूमा फ्लू भएको छ । यी मध्ये ३ लाख १० हजार मानिसहरूलाई अस्पतालमा नै भर्ना गर्नु परेको थियो ।
फ्लुका कारण १३ हजारको मृत्यु भएको बताइएको छ । चिसो बढेसँगै देशभरमा फ्लूका बिरामी पनि निरन्तर बढिरहेको सीडीएसले बताएको छ ।
फेब्रुअरी १ मा सकिएको हप्तामा फ्लुले गर्दा दश जना बालबालिकाको मृत्यु भएको छ । योसँगै यस सिजनमा मृत्यु हुने बालबालिकाको संख्या ५७ पुगेको छ । यस हप्ता फ्लूका कारण ४८ हजारभन्दा बढी बिरामी अस्पताल भर्ना भएको बताइएको छ ।
सीडीएसका अनुसार, यस हप्ता अमेरिकामा एक व्यक्तिमा इन्फ्लुएन्जा ए (एच१एन२) भाइरसको संक्रमण भेटिएको छ । यो यस सिजनमा इन्फ्लुएन्जा ए को पहिलो मामिला भएको बताइएको छ । देशका ४५ भन्दा बढी राज्यहरूमा फ्लूको स्तर ‘उच्च’ वा ‘निकै उच्च’ छ । आकस्मिक कक्षहरूमा फ्लूका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेका छन् । यो अवस्था २००९ मा स्वाइन फ्लू महामारीको चरम सीमा पछिको सबैभन्दा गम्भीर भनिएको छ ।
फ्लू खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यसबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका खोप हो । फ्लू भएपछि अचानक उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र कमजोरी आदि लक्षणहरू देखिन्छन् ।
सामान्यतया एक हप्ता भित्र फ्लु निको हुन्छ । तर गम्भीर अवस्था भएका वा जोखिममा रहेका मानिसहरूलाई मद्दत चाहिन सक्छ ।