• माघ २६ २०८१, शनिबार

खानेपानी मन्त्रालयको तीनवटा कोठाका कागजात जलेर नष्ट

माघ २६ २०८१, शनिबार

२६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन–कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।