काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ।
सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।
संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् ।
आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना छ ।