• पुष २० २०८१, शनिबार

कोरियन विमान दुर्घटना अपडेट : १ सय २४ को शव फेला

पुष १४ २०८१, आईतवार

सिओल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा हालसम्म १ सय २४ जनाको शव फेला परेको त्यहाँको नेशनल फायर एजेन्सीले जानकारी दिएको छ ।

बीबीसीमा प्रकाशित समाचारका अनुसार यसमध्ये ५४ जना पुरुष र ५७ जना महिला रहेका छन् । १३ जनाको शवको पहिचान खुल्न सकेको छैन । विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । दुवै विमानको चालक दलका सदस्य रहेका छन् ।

उद्धार कार्यमा १ हजार ५६२ जना खटिएका छन् । जसमा वारुणयन्त्रका ४९० जना तथा ४५५ जना प्रहरी अधिकारी रहेका छन् ।

आइतबार बिहान थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोमा विमान रनवेमा चिप्लिँदै भित्तामा ठोक्किन पुगेको थियो ।

विमान ठोक्किएसँगै त्यो आगोको चपेटामा आएको थियो । विमान दुर्घटनाको यकिन कारण पत्ता नलागे पनि चरासँग ठोक्किएर र खराब मौसमका कारण घटना भएको हुनसक्ने बताइएको छ ।

जेजु एयर कोरियाको बजेट एयरलाइन्स हो । यो सन् २००५ मा स्थापना भएको थियो । कोरियामा पछिल्लो पटक सन् २००२ मा ठुलो विमान दुर्घटना भएको थियो । त्यति बेला एयर चाइनाको विमान दुर्घटना हुँदा १ सय २९ जनाको मृत्यु भएको थियो ।

कोरियन विमान चाहिँ सन् २०१३ मा दुर्घटनामा परेको थियो । एसियाना एयरलाइन्सको विमान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।