काठमाडौं । आज विश्व सर्वहारा वर्गका नेता, चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष माओ त्सेतुङको १३१औं जन्मदिन परेको छ । यस अवसरमा चीन र नेपाल लगायतका देशहरुमा उनको जन्म दिन विशेष कार्यक्रम गरी मनाइँदैछ ।
माओ चिनियाँ नयाँ जनवादी क्रान्तिका सर्वोच्च कमाण्डर हुन् । उनी आज देखिएको चिनियाँ विशेषताको वैज्ञानिक समाजवादका संस्थापक तथा माओवादी नीति र विचारका प्रवर्तक हुन् । अर्थात् नयाँ, स्वतन्त्र र विदेशी हस्तक्षेप मुक्त चीनको निर्माता तथा नेतृत्वकर्ता उनै माओ हुन् ।
आजकै दिन अर्थात् सन १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङ श्यान काउन्टीको शाओसान गाउँमा एक किसान परिवारमा माओ त्सेतुङको जन्म भएको थियो । यसै सन्दर्भमा संसारभर कृयाशिल पत्रकार तथा लेखकहरुको साझा संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि माओको जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै माओले अपनाएको क्रान्तिको बाटोमा लामवद्ध भएका संसारभरका क्रान्तिकारीहरुमा एक्यवद्धता जनाएको छ । संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी विज्ञप्तिमा यस्तो एक्यवद्धता जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘आज विश्वभरका सामन्तवाद र साम्राज्यवाद तथा उत्पीडित राष्ट्र, जनता तथा क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु आम मुक्तिकामी जनसमुदायले कमरेड माओ त्सेतुङको १३१औं जन्म दिवस धुमधामका साथ मनाउन गइरहेकोप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको १३१औं जन्म दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ र कमरेड माओ त्सेतुङले देखाएको बाटोमा अविचलित भएर अगाडि बढ्ने बचनबद्धता व्यक्त गर्दछ ।’
केसीको विज्ञप्तिमा ‘आज साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युगमा कमरेड माओ त्सेतुङले प्रतिपादित गर्नु भएको दार्शनिक सिद्धान्त माओवाद र उहाँले मार्क्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि गर्नु भएको विकास र प्रयोगबाट शिक्षा लिँदै माओवादको प्रयोग, विकास र संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरेर मात्र कमरेड माओ त्सेतुङको सच्चा जन्म दिवस मनाएको ठहर्नेछ भन्ने हाम्रो संगठनको ठहर छ ।’ भनिएको छ । नेपालमा पनि आज विविध कार्यक्रम गरी माओको १३१औं जन्मदिन मनाइँदैछ ।