• मंसिर २९ २०८१, शनिबार

अमेरिकी निर्देशनमा असफल सैन्य ‘कू’ गरेका दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव पास

मंसिर २९ २०८१, शनिबार

२९ मंसिर, सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निणर्य गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निणर्य फिर्ता लिएका थिए ।

विपक्षीले भने उनलाई पदबाट हटाउनै पर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो । सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो । दोस्रो प्रयासमा शनिबार (आज) फेरि संसदमा महाअभियोगको पक्ष-विपक्षमा मतदान भएको थियो ।

यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महाअभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले लेखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।

संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए । सैनिक शासन घोषणाको ११ दिनपछि राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको हो ।

राष्ट्रपति योलले राष्ट्रविरोधी शक्तिहरूबाट देशको रक्षा गर्न र सामाजिक व्यवस्था कायम राख्न सैनिक शासन लगाउनु परेको तर्क गरेका थिए । राष्ट्रविरोधी शक्तिहरू भन्ने शब्दलाई प्रतिपक्ष र अन्य विरोधी समूहहरूसँग जोडेर व्याख्या गरिएको छ ।

महाभियोग प्रस्ताव पारित भएपछि युनको राष्ट्रपतिको जिम्मेवारी तत्काल निलम्बन गरिएको छ । अब यो प्रस्तावलाई संवैधानिक अदालतले अनुमोदन गर्ने वा खारेज गर्ने भन्ने निणर्य लिनेछ । यस बीचमा, प्रधानमन्त्री हान डक-सु कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहने कोरिया टाइम्सले जनाएको छ ।