काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले विदेशीको इसारामा चल्ने पार्टी भएको बताएका छन् ।
माओवादीको रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव पुनले माओवादी केन्द्र बाहिरी रुपमा स्वाधिनताको लागि र भित्री रुपमा जनताको अधिकारको लागि लड्ने पार्टी भएको बताए । उनले स्थानीय रुपमा भइरहेको आफ्नो पार्टीका अधिवेशनहरुले पार्टीमा उत्साह पैदा गरेको बताए ।
सो अवसरमा बोल्दै पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीले जनयुद्धमा प्रचण्डलाई संकट पर्दा रोल्पा आउने गरेको भन्दै आज पनि पार्टीलाई समस्या पर्दा आफूहरु नै अगाडी सर्नुपर्ने बताइन् । उनले आज पनि समाजवादी क्रान्ति पुरा गर्न क्रान्तिको जरारुपी रोल्पा पनि सधै तयार हुनुपर्ने बताइन् । त्यसको लागि संगठन मजबुत बनाउनु पर्नेमा उनको जोड थियो ।
सोही अवसरमा बोल्दै माओवादी नेतृ तथा पूर्वमन्त्री जयपुरी घर्तीले इमानदारीता रोल्पालीको परिचय भएको भन्दै हिजो पनि इमानदारीतापूर्वक जनयुद्ध लडेको र आज पनि समाजवादी क्रान्तिको इमादारीतापूर्वक नेतृत्व गरेर जान सक्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका अर्का वक्ता तथा माओवादीका केन्द्रिय सदस्य यसोदा सुवेदीले भूगोलमा काम गर्ने र सम्पर्क समन्वय समितिहरुमा काम गर्ने तरिका र शैली मिलाउन जानेमा अगाडी बढ्न सजिलो हुने बताइन् । उनले जिल्ला र समन्वय समिति बीच नङ र मासुको जस्तै सम्बन्ध बनाउनु पर्नेमा जोड दिइन् ।
अर्का वक्ता तथा माओवादी केन्द्रिय सदस्य झक्कु सुवेदीले आफूहरुले जनयुद्धमार्फत् पुँजीवादी क्रान्ति गरेको र अब समाजवादी क्रान्ति गर्नुपर्ने बताए । उनले समाजवादले मात्रै जनताको आर्थिक अवस्था बदल्न सक्ने दावी गरे । त्यसको लागि फेरि ६४ सालको जस्तै माओवादीको पक्षमा माहोल बनाउनु पर्नेमा उनको जोड छ ।
अर्का वक्ता तथा पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर शुकबहादुर रोकाले हिजो जनयुद्धमा सामन्तका सम्पति र हतियार कब्जा गरेजस्तै अब समन्वय समितिहरु र स्थानीय समितिहरुले मतको माध्यमबाट पार्टीलाई विजय बनाउने गरी काम गर्नुपर्ने बताए ।
माओवादीकै अर्का केन्द्रिय सदस्य मानबहादुर बुढाले मध्यपूर्वमा अमानवीय तरिकाले निर्दोष मानिसहरुको हत्या गरिएको भन्दै मानव जातिको लागि यो घटना निकै नराम्रो भएको बताए । उनले गलत विचार र दर्शन हावी भएकोले त्यहाँ त्यस्तो भएको भन्दै नेपालमा त्यस्तो अवस्था आउन नदिनको लागि तयार हुनुपर्ने बताए ।
कार्यक्रमका अर्का वक्ता तथा माओवादीका केन्द्रिय सदस्य तथा सम्पर्क समितिको लुम्बिनी प्रदेश इन्चार्ज गीता गहतराजले रोल्पा सहिद सुनिल र दीर्घको रगतले लत्पतिएको जिल्ला भएकोले अझै पनि रोल्पा जागै छ भन्ने सन्देश दिनुपर्ने बताइन् । उनले काठमाडौंबासी रोल्पालीले जनयुद्धलाई भुल्न नहुने बताइन् ।
सोही अवसरमा बोल्दै समन्वय समितिको लुम्बिनी प्रदेश संयोजक उदयराज अधिकारीले रोल्पा-काठमाडौं समन्वय समिति पनि देशैभर नमूना काम गर्नसक्ने समति बनोस् भनी शुभकामना दिए । उनले माओवादीले एक्लै चुनाव लड्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै माओवादी नेतृ कुस्मा महराले वीरता र बलिदान बोकेको जिल्ला भएकोले आज र भोलि पनि क्रान्तिको बाँकी कार्यभार पुरा गर्न रोल्पा अझै पनि तयार हुनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा रोल्पा-काठमाडौं समन्वय समितिका इन्चार्ज जीवन रोकाले आफ्नो संगठनको इतिहासको बारेमा जानकारी दिएका थिए । उनले आफ्नो संगठनले विरामीहरुको उपचार गर्ने, समस्यामा परेकाहरुको उद्धार गर्ने तथा सामाजिक कार्यहरुमा लागेर रोल्पाबाट काठमाडौं आएर पेशा गरेर बसेका जनतालाई समस्या पर्दा साथ दिएको बताए । सम्मेलनको संचालन तिलबहादुर घर्तीले गरेका थिए भने कार्यक्रमको सभापतित्व भीमप्रकाश बाँठाले गरेका थिए ।
कार्यक्रममा जयबहादुर घर्ती, गुलाव घर्ती, चेतन कंवर, जुना घर्ती र मनिषा श्रेष्ठ पनि अतिथिको रुपमा उपस्थित थिए भने सल्लाहकार अतिथिहरुमा हिमाल घर्ती, इन्द्रजित पुन र बसन्त पुन उपस्थित थिए l
कार्यक्रममा तीन पूर्व अध्यक्षहरु जीवन प्रवेश रोकामगर, नवल घर्ती र विज्ञानलाई सम्मान गरिएको थियो l
कार्यक्रममा उपस्थित सहभागीहरुलाई रुद्र पुनले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए l तस्वीरहरू : राेमन बुढाागर/ राज मगर ।