काठमाडौं । साउदी अरबले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ६ जना नेपालीको कामदार भिषा रद्द गरेको छ । शेरबहादुर थापाक्षेत्री, अखिल चौधरी, अमर थापा, हरिबहादुर भाग्री, विनोद मुक्तान, रुपेश साह कानुलाई त्यहाँको अध्यागमनले भिषा रद्द गरी निष्काशित गरेको हो ।
त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि पक्राउ गरी उनीहरूलाई नेपाल फिर्ता पठाएको स्रोतले जनाएको छ । तर, उनीहरूले के कस्तो कानुन उल्लंघन गरे भन्नेबारे खुलेको छैन । उनीहरू श्रमस्वीकृति लिएर त्यहाँ काम गर्न गएका थिए। तर, त्यहाँको अध्यागमनले कामदार भीसा रद्द गरी नेपाल फर्काएको जनाएको छ ।
यसैगरी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै कतारले पनि दुईजना नेपालीलाई निष्काशित गरेको छ । भीमबहादुर दोङ र रविकुमार श्रेष्ठलाई त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै नेपाल फिर्ता पठाएको हो ।
स्रोतका अनुसार उनीहरू कतार एयरबाट मंगलबार काठमाडौं आएका हुन् । पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका नेपाली त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित हुँदै आएका छन् ।