• मंसिर ४ २०८१, मंगलवार

फेसबुकका मालिकलाई भारतले २ अर्ब बढी भारु जरिवाना तिरायाे

मंसिर ४ २०८१, मंगलवार

नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी मार्क जुकरबर्गको कम्पनीलाई भारतले जरिवाना लगाएको छ । प्रयोगकर्ताको गोपनीयता सम्बन्धी मामिलामा भारतको प्रतिस्पर्धा हेर्ने नियामक सीसीआईले मेटामाथि २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना लगाएको हो ।

मेटाको सहायक कम्पनी ह्वाट्सएपले गोपनीयता नीतिमा लापरबाही गरेको र प्रयोगकर्ताको डेटा चोरेको अभियोगमा जरिवाना तिराइएको हो ।

मेटाले बजारमा आफ्नो बर्चश्वको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । जरिवाना सन् २०२१ मा ह्वाट्स एपको गोपनीयता नीतिसँग सम्बन्धित छ ।

जरिवानाको साथै सीसीआईले मेटामाथि उसको प्लेटफर्ममा जम्मा पारेको प्रयोगकर्ताका डेटा पाँच वर्षसम्म विज्ञापनका लागि मेटाका अन्य कुनै प्रडक्ट वा कम्पनीसँग शेयर नगर्न पनि आदेश दिएको छ ।

यो समयसम्म कम्पनीले सुधारको दिशामा जरुरी कदम उठाउन र त्यसलाई लागू गर्न पनि आदेश दिइएको छ ।