• मंसिर २ २०८१, आईतवार

मणिपुरमा फेरि भड्कियो हिंसा, महिला र बालिकाको शव फेला, लाग्याे कर्फ्यू

मंसिर २ २०८१, आईतवार

नयाँदिल्ली । भारतको मणिपुर तथा आसामको सीमा नजिक रहेको जिरी नदीमा शुक्रबार एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ ।

मणिपुरमा शनिबार भीडले इम्फाल उपत्यकाका केही विधायक तथा मन्त्रीको घरमा आक्रमण गरेको थियो । उक्त भीडले थुप्रै गाडीमा आगजनी समेत गरेको बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रदर्शनकारीहरूले शनिबार तीन मन्त्री तथा ६ विधायकको घरमा आक्रमण गरेका थिए । त्यसपछि राज्य सरकारले पाँच जिल्लामा कफ्र्यू लगाएको छ । केही क्षेत्रमा इन्टरनेट सेवा बिच्छेद गरिएको छ ।
प्रदर्शनकारीहरूले मुख्यमन्त्री बीरेन सिंहका ज्वाइँको घरमा पनि आक्रमण गरेका छन् । प्रदर्शनकारीहरूले विधायक र मन्त्रीको घरमा आक्रमण गर्न थालेपछि सुरक्षा फौजले अश्रु ग्यास प्रहार गरेको थियो ।

आजतककले आफ्नो समाचारमा उल्लेख गरेअनुसार ६ जनाको शव भेटिएपछि हिंसा भड्किएको हो । सोमबारदेखि बेपत्ता भएका दुई महिला तथा एक बच्चाको शव शनिबार भेटिएको थियो । त्यस्तै अन्य तीन जना (एक महिला तथा दुई बालबालिका) को शव भने शुक्रबार राति फेला परेको थियो ।

मणिपुर घटनाबारे राहुल गान्धीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्( हालै मणिपुरमा भएको हिंश्रक झडप तथा लगातारको रक्तपातले गहिरो चिन्ता बढाएको छ । एक वर्षभन्दा बढी समयको विभाजन र पीडापछि केन्द्र र राज्य सरकारले मेलमिलापको लागि हरसम्भव प्रयास गर्नेछन् र समाधान निकाल्नेछन् भन्ने हरेक भारतीयहरूको आशा थियो ।

गान्धीले अगाडि भनेका छन्, म फेरि प्रधानमन्त्रीलाई एकपटक मणिपुरको भ्रमण गर्न र सो क्षेत्रमा शान्ति र सुधारका लागि काम गर्न आग्रह गर्दछु ।

इम्फालका प्रहरी अधिकारी मेघचन्द्रालाई उद्धृत गर्दै बीबीसीले सो क्षेत्रमा भीडले हिंसा भड्काएको उल्लेख गरेको छ । ती अधिकारीले भनेका छन्, बिग्रँदो परिस्थितिलाई मध्यनजर गर्दै कफ्र्यू लगाइएको छ । संवेदनशील स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ ।