• मंसिर १ २०८१, शनिबार

नेपाली सडकमा चिनियाँ र भारतीय ईभी ‘ब्याटल’

कार्तिक ३० २०८१, शुक्रबार

३० कात्तिक, काठमाडौं । पुरानो कुरा गर्ने हो भने नेपालमा गाडी चढ्न सक्ने हैसियत भएका मानिस भारत र चीन दुवै देशमा बनेका निजी कारप्रति नाक खुम्च्याउँथे। जापान, कोरिया, युरोप र अमेरिकी ब्रान्ड नेपाली उपभोक्ताको रोजाइमा पर्थे । तर, अवस्था फेरियो । नेपालको अटो बजारमा पहिले स्थापित ब्रान्डहरूको अवस्था धर्मराएको छ, भारतीय र चिनियाँ ब्रान्डका गाडीहरू नेपाली उपभोक्ताको पहिलो रोजाइमा छन् ।

यसरी नेपाली अटो बजारको परिदृश्य नै परिवर्तन गर्ने परिघटना हो, बिजुली गाडी (इलेक्ट्रिक भेइकल(ईभी) को आगमन । आर्थिक वर्ष २०८०९८१ मा निजी कार बिक्रीमा ७१.५ प्रतिशत हिस्सा ईभीको छ । पछिल्लो तीन वर्षमा नेपाली अटो बजारमा १७ हजार ५७८ वटा विद्युतीय सवारी साधन (ईभी) भित्रिए, जसमध्ये १० हजार २५९ वटा गाडी चीनबाट र ६ हजार ३५० वटा विद्युतीय सवारी साधन भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका ईभी समेत भित्रिएका छन् । तर, तिनको हिस्सा सानो छ । पछिल्लो तीन वर्षमा भारत र चीन बाहेकका मुलुकबाट भित्रिएका सवारीसाधनको संख्या ९४९ देखिन्छ ।