• कार्तिक १२ २०८१, सोमबार

सयपत्री फूल बेचेर दुई लाख आम्दानी गर्दै दैलेखका देवेन्द्र गाेदार

कार्तिक १२ २०८१, सोमबार

वीरेन्द्रनगर । सुर्खेतदैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् ।

निजी सवारी साधनमा यात्रा गरिरहेकाहरू त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन र तस्वीर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूल खेतीले यात्रुको आँखा खिचेको हो । उनले गत वर्षदेखि फूल खेती गरेका हुन् । गत वर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ, उनले भने ।
अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए, गोदारले । गत वर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ, उनले भने ।

यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख आम्दानी हुने अनुमान उनको छ । कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहीले जिल्लामा फूल खेतीको संभावना राम्रो रहेको बताए ।