• मंसिर ११ २०८१, मंगलवार

हिमालमा तिब्र बन्दै ‘ग्लोबल वार्मिङ’को प्रभाव

आश्विन २५ २०८१, शुक्रबार

नेपालको हिमाली जिल्ला सोलुखुम्बुको अति सुन्दर थामेगाउँ हेर्दाहेर्दै निमेषभरमा बगायो बाढीले । पुरानो बस्तीले सदाका लागि बिदा लियो । मानिसको आँखामा आँशुभन्दा केही थिएन । यसरी सुन्दर बस्ती आफ्ना मानिसलाई छोडी बगेर जाँदा कसैले पनि ‘बाइबाई’ गरेनन् ।

स्थानीयले आफ्ना पितापुर्खा सम्झिए । आफ्नो थात थलो सदाका लागि मासिएको बुझे । आफ्ना सालनाल गाडेको धरती बगेको देखे । आफु लडीबुडी खेलेको पाखो सदाका लागि अलप भएको महसुस गरे । पुर्ख्यौली गाउँ नरहेपछि नरमाइलो मानिरहे ।

तर संसारका मानिसलेत्यति प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे, आङरिता र कामीरिता लगायतका कीर्तिमानी हिमाली आरोही शेर्पाहरूको झल्झली संझना गरे । उनीहरू जन्मिहुर्केको पुर्ख्यौली हिमाली गाउँ अब बगरमा परिणत भएको छ ।

ऐतिहासिक गाउँ खण्डहर भयो । नेपालको चिनो बगायो । संरक्षणको कुनै गुनजायस रहेन । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले धर्म निर्वाह गरेर सक्यो ।
उसले ३,८०० मिटर उचाइमा रहेको थामे गाउँका १३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको १० घर र दुई होटलमा आंशिक क्षति पुगेको र झोलुङ्गे पुल बगाएको विवरण सार्वजनिक गरिदियो । सरकार छ देशमा । त्यो पनि दुईतिहाइको ! तर जनतामा अवस्था सिर्जना भएको छ, हाइदुहाइको !

सरकार र प्रतिपक्षीको काम आपसी झगडामा सिमित छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वका स्थानहरूको संरक्षणको रणनीतिक योजना छैनन् । देश हाँक्ने कुटनीतिक योजना छैनन् । बबाल अवस्थामा देश चलिरहेको छ ।

विपद् आउँदा एक्लै आउँदैन रे ! ‘ग्लोबल वार्मिङ’ को विश्वव्यापी विपद् नेपालमाथि खनिएको छ । तर सरकारलाई यस्ता विपद्को खुबै प्रचार गर्ने र पाएसम्म हात थापेर खाने भन्दा अर्को कुरा व्यवहार र स्मरणमा छैन ।

पश्चिमा राष्ट्रहरूमा तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथा चुचुरोमा सँगै पुगेका न्यूजिल्याण्डवासी एडमण्ड हिलारीको सहयोगमा बनेको हिलारी स्कूल बाढीले भत्काएकोमा गहिरो छलफल चलिरहेको छ । उनीहरूले हिलारी र तेन्जिङलाई आफ्नो मान र शान ठान्छन् ।

उनीहरूको भुमिमा यो बस्ती भइदिएको भए ऐतिहासिक तथा पर्यटकीय बस्तीमा संरक्षित भइसकेको हुने थियो । नेपालमा दर्जनौ पर्यटकीय कार्यक्रम आए । बने र बनाइए । तर तेन्जिङको गाउँ नै संरक्षणमा परेन । नेता, कार्यकर्ता र पार्टी पाल्ने ती कार्यक्रमले वास्तविकता केको छाम्न सक्थे !

ग्लोबल वार्मिङको असर बाढी बनेर आएको छ । ग्लोबल वार्मिङ खडेरी बनेर आएको छ । यो खण्ड बृष्टि बनेर आएको छ । यो हिमताल फुटाउने बिष्फोटक बनेर आएको छ । हिमाल पगाल्ने ताप र राप लिएर आएको छ, ग्लोबल वार्मिङ !

नेपालको हिमालसँग अभिन्न जोडिएको हिमश्रृङ्खला ग्लोबल वार्मिङको सिकार बनिरहेको छ । नेपालमात्र होइन, नेपालका पश्चिममा रहेका अफगानिस्तान, पाकिस्तान र पुर्वमा रहेका बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पनि यसको निरन्तर प्राथमिक निसानामा परिरहेका छन् ।

लम्बाइका हिसाबले ३,५०० किलोमिटर रहेको हिन्दुकुश हिमाल पर्वतमालामा हजारौं हिमनदीका र तालहरू छन् । बेला बेलामा हिम पहिरो पनि गइरहेको छ । यी हिमनदी, हिम पहिरो भन्दा हिमताल बढी जोखिममा छन् । किनकि बढ्दो तापका कारण हिमालको हिउँ पग्लने प्रक्रिया तीब्रतामा छ ।

यीमध्ये ४७ वटा हिमताल निकै जोखिममा छन् । यी हिमताल कुनै पनि बेला फुट्ने अवस्थामा छन् । तीमध्ये २१ वटा हिमताल नेपालका हिमतालमध्येका रहेका छन् । थामेको गाउँ बगाउने बाढी पनि हिमतालका फुट्नुका कारण आएको हो । भौगोलिक अवस्थितिका कारण नेपाल चीन स्वशासित तिब्बतमा रहेका २५ वटा जोखिमपूर्ण हिमतालका कारण पनि त्राहिमाम छ । किनकि तिब्बतको ताल फुटेमा बाढी नेपालमा आउँछ ।

नेपालको हिमाली क्षेत्रमा मात्र ३ हजार ६२४ हिमताल छन् । तीमध्ये जोखिममा के कति छन्, अनुसन्धान जारी छ । अबका आउँदा दिनमा बर्खा याममा मात्र होइन, हिउँद र गर्मीका दिनमा पनि हिमताल फुट्ने खतरा बढी छ । किनकि हिमालको हिउँ तिब्रतामा पग्लिइरहेको छ । हिम पहिरोको संख्या बढिरहेको छ । हिमनदी पानीको नदीमा परिणत हुँदै गइरहेका छन् ।

तर सोलुखुम्बुको कथा अर्कै छ । थामे गाउँ बगाउने गरी फुटेका दुवै हिमताल जोखिमयुक्त तालको रूपमा सूचीकृत थिएनन् । तर पनि ती फुटे । पछिल्लो अध्ययनले विश्वमा बढ्दो तापक्रमको वृद्धिसँगै नयाँ–नयाँ हिमताल बन्ने क्रममा बढोत्तरी हुँदै छ । नेपाल पनि अछुतो छैन । यस्ता ताल कति बने वा बन्दै छन् भन्ने अनुसन्धान नेपालमा कसैले गरेको पनि छैन ।

ताल फुटेपछि हेलिकप्टरमा अनुगमनमा जाने र तमासा देखाउने चलन छ । अब त हिमाली जिल्लाका मानिस थातथलो छाडेर बसाइँ सर्न थालिसकेका छन् । पानीका मुल सुकेपछि मनाङ मुस्ताङजस्ता हिमाली जिल्लका मानिस धमाधम बसाइ सरिरहेका छन् । यो पनि ग्लोबल वार्मिङको अर्को डरलाग्दो पक्ष हो ।

पानीको चरम संकटले पहाडी जिल्लाका बस्ती पनि रित्तिँदै गएका छन् । स्वदेशको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ । विदेशीले चिन्ता व्यक्त गर्ने मात्र हो । काम गरी पुराउने भनेको नेपालीले नै हो ।

तर हिमालमा चर्को घाम लागेर हिमाल पग्लिने क्रम तीब्र हुँदै गए पनि सुरक्षाका उपाय बेलैमा अपनाउन र कामको थालनी गरिहाल्नका लागि नेपालका शासकहरूको घैंटामा घाम लागिसकेको देखिदैन ।