• जेष्ठ १ २०८३, शुक्रबार

मकैको चटपटे बेच्ने सारती भन्छिन् – दैनिक १५ सयसम्म कमाइ हुन्छ

भाद्र ५ २०८१, बुधबार

काठमाडौं । अधिकांश ठाउँमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर चटपटे बनाइन्छ । तर, दाङकी सारती अधिकारी भने मकैको चटपटे बेच्छिन् ।

देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकै खेती हुने भएकाले उनले मकैको चटपटे बनाउन थालेकी हुन् । राप्ती गाउँपालिका–३ मसुरियाकी अधिकारी मकैको चटपटेबाट राम्रै आम्दानी भइरहेको बताउँछिन् ।

सुरुमा आफूले पनि भुजा, चाउचाउको चटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम सुरु गरेको उनले बताइन् ।

‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ उनी भन्छन् ।

चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनको भनाइ छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ ।

अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् ।

यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने उनको भनाइ छ । ‘मासिक १०–१२ हजार बचत हुने गरेको छ’, उनले भनिन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उनले बताइन् ।