• जेष्ठ २ २०८३, शनिबार

गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन

श्रावण २७ २०८१, आईतवार

काठमाडौं, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ । उनी शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यले पाटन अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरेको परिवारका सदस्यको भनाइलाई उद्धृत गर्दै गायक एवं संगीतकार राजनराज सिवाकोटीले बताए ।

गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका प्रीय ‘तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन् ।

उनले थुप्रै देशका भाषामा गीत गाउन सक्ने खुबी राख्थे । गत वर्ष मात्रै उनले १८ वटा देशको भाषामा गीत रेकर्ड गराएको संगीतकार विकास चौधरीले बताए ।

गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अहिले बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए । तिमिल्सिनाको आजै अन्त्येष्टी गर्ने तयारी छ ।